सूचनाको शक्ति - The Power Of Information

        

जनप्रतिनिधि नै रोजगारी खोज्दै विदेशतिर

रोजगारीको लागि विदेश पुगेका छत्रकुमार श्रेष्ठ र फुर्ते शेर्पा, साथमा विदेश जाने तयारीमा रहेका हरिकुमार खत्री र यादन राई ।

स्थानीय तहको निर्वाचनमा निवार्चित खोटाङका जनप्रतिनिधिहरु रोजगारीका लागि विदेश जान थालेका छन् । गाउँठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरु चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाको केपिलासगढी गाउँपालिकाका कार्यपालिका सदस्य फुर्ते शेर्पा बैदेशिक रोजगारीका लागि कोरिया गएका छन् । जनता समाजवादी पार्टीका शेर्पा गत असारमा कोरिया गएका छन् । असार १० गते गाउँपालिकामा राजिनामा दिएर शेर्पा विदेश गए ।

असार २० गतेको कार्यपालिका बैठकलले शेर्पाको राजिनामा स्वीकृत गरेको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए । यस्तै, रोजगारीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुईपाका वडा सदस्य छत्रकुमार श्रेष्ठ जापान पुगेका छन् ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अत्यधिक मतसहित विजयी श्रेष्ठ अन्ततः रोजगारीका लागि जापान गएका हुन् । नेकपा (एमाले)बाट निर्वाचित श्रेष्ठ ७ महिनाअघि स्टुडेन्ट भिसामा जापान पुगेको बताइएको छ ।

छोटो समयको लागि भनेर जापान उडेका श्रेष्ठ अहिले उतै सेटल भएको जानकारी आएको वडाध्यक्ष दिनेश राईले बताए । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका निर्वाचित वडा सदस्य यादन राई पनि अहिले वडाको सम्पर्कमा छैनन् ।

माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राई करिब १ वर्षदेखि सम्पर्कमा नरहेको वडाध्यक्ष अर्जुन पुरीले बताए । विगतमा कोरिया बसेर आएका राई पुनः कोरिया जाने तयारीमा रहेको बुझिएको वडाध्यक्ष पुरीले बताए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाका निर्वाचित वडा सदस्य हरीकुमार खत्री पनि बैदेशिक रोजगारीका लागि तयारी गरिरहेको बुझिएको छ । २३ वर्षको उमेरमै राजनीतिमा लागेर वडा सदस्य निर्वाचित खत्री अहिले रोजगारीका लागि विदेश जाने तयारीमा रहेको वडाध्यक्ष लिलाकुमार चौहानले बताए ।

हाल वडा सदस्य खत्री दुई तीन महिनादेखि वडा कार्यालयमा उपस्थित नरहेको वडाध्यक्ष चौहानको भनाइ छ । वर्तमान अवस्थामा राजनीतिमा युवाहरुको माग बढ्दो छ । करिब डेढ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा खोटाङका धेरै ठाउँमा वडाध्यक्षदेखि वडा सदस्यमा युवाहरु निर्वाचित भएका थिए ।

निर्वाचित युवाहरु अहिले धमाधम रोजगारीका लागि विदेश जान थालेपछि स्थानीयहरुले पनि चिन्ता जनाउने गरेका छन् । गाउँको विकास गर्ने, गाउँमै रोजगारीको सिर्जना गर्ने नारासहित चुनावी मैदानमा युवाहरु होमिएको भए पनि अहिले जनताको काम गर्न छाडेर विदेश पलायन भएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार २१:४४

लोकप्रिय