सूचनाको शक्ति - The Power Of Information

        

रक्सीसित मासुकै सितन किन ?

रक्सीसँग सामान्यतः माछामासु नै सितन खान मन पराएको पाइन्छ । माछामासु न पाएको अवस्थामा मात्र अन्य विकल्प खोजिएको हुन्छ । जस्तैः सुकुटी, सलाद, चिप्स, भुजिया, पापड, साँधेको बदाम, साँधेको गुन्द्रुक आदि । सितन प्रायः नुनिलो, अमिलो वा पिरो हुने गर्दछ । गुलियो, तितो वा टर्रो सितन खाने चलन पाइन्न ।

अतः रक्सीसित कस्तो सितन स्वस्थकर हुन्छ र किन ?

विश्वभरिको चलनलाई हेर्ने हो भने रक्सी पिउने प्रायः व्यक्तिले केही न केही सितन खोजेकै हुन्छ । सितन अर्थात् त्यस्तो ठोस पदार्थ जुन मूल खानापानसँग सहयोगी खानाको रूपमा खाइन्छ । रक्सीसँग खाइने सितनमा प्रायः मासु हुने गरेको पाइन्छ । रक्सी पिउने शाकाहारी व्यक्तिबाहेक अन्य अधिकांशले रक्सीसँग मासुको सितन खोज्छ र रोज्छ । किन होला ? यसको पछाडि कुनै विज्ञान पनि छ कि चलन मात्र हो यो ?

आयुर्वेद औषधी विज्ञान मात्र होइन । यो आहार विज्ञान पनि हो । आयुर्वेदले के खाने र कति खाने मात्र बताएको छैन । कसरी खाने र केसँग के खाने के नखाने भन्ने समेत बताएको छ । आखिर आहारलाई नै औषधी मान्ने विज्ञान जो हो, आयुर्वेद । आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रूपमा चिन्तन र चर्चा गरिएको विषय हो अनुपान (अनुः पश्चात, पानः खाना वा औषध सेवन) ।

अनुपान भनेको त्यस्तो खानपान जुन मूल खानापान वा औषधी खाएपछि खाइन्छ । सँगसँगै वा अन्य निश्चित समयमा एवं विधिले खाइन्छ । जस्तै सामान्यतः रूघा वा खोकी लाग्दा मरिचको धुलो सेवन गरिन्छ जसलाई महसँग राखेर चाटिन्छ । आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश निघण्टुमा बताइएको छ कि कफ सम्बन्धी रोगको निवारणका लागि हर्रोको चुर्ण नुनसँग खाइन्छ । पित्त सम्बन्धी रोग दूर गर्न सख्खरसँग खाइन्छ ।

बातसम्बन्धी रोगमा घ्यूसँग खाइन्छ । र सामान्यतः सबैप्रकारको रोगबाट बच्न गुडसँग खाइन्छ । आयुर्वेद विज्ञान हो । फलतः हरेक घटना वैज्ञानिक तर्कद्वारा पुष्टि हुनैपर्छ । किन रूघाखोकीमा मरिचसँग मह खानु लाभकारी हुन्छ र हर्रो चुर्ण गुडसँग खानु सर्वरोग निवारणमा लाभकारी भनिएको होला त ? जस्तै हर्रोको चुर्ण खाँदा स्वाद अप्रिय लाग्छ जसलाई दूर गर्न अनुपान मह वा नुन दिइन्छ । अनुपानको प्रयोजन भनेको औषधि सेवन प्रक्रियालाई सुखद (स्वरूप, रङ्ग, रस, गन्ध अनुकुल बनाउनु) बनाउनु पनि हुन्छ ।

जसरी पानीमा राखिएको तेलको थोपा पलभरमै सबैतिर फैलिन्छ, त्यसै प्रकारले अनुपानको सहयोगले औषधी शरीरभित्र सर्वत्र फैलाउँछ। औषधीसँग समान गुण भएको अनुपानले औषधिको कार्यशक्ति बढाउँछ । जस्तै निमको चुर्णको प्रभाव बढाउन गुर्जोको काढाको अनुपान दिइन्छ । एउटै औषधिसँग खाइएको फरक फरक अनुपानले फरक फरक कार्य गर्दछ । जस्तै मनतातो पानीसँग खाइएको त्रिफलाले कब्ज खोल्छ भने त्यही क्रिफला महसँग खाँदा त्यो नेत्र रोगका लागि प्रभावकारी हुनजान्छ ।

वस्तुत शास्त्रीय हिसाबमा अनुपानले तृप्ति दिलाउँछ, आहारलाई छिटो पचाउँछ, आयु बढाउँछ, शरीरलाई सुख एवं ऊर्जा दिलाउँछ । शरीरलाई मोटाइ बढाउँछ र अंगहरूलाई दृढ बनाउँछ । मनलाई हर्षित तुल्याउँछ । हरेक चिकित्सा विज्ञानको आ–आफ्नै आधारभूत वैज्ञानिक सिद्धान्त हुन्छन् । आयुर्वेदले चिकित्सा कर्मका लागि पञ्चमहाभूत सिद्धान्त अपनाउँछ । विश्व ब्रह्माण्डका सबै बस्तु पञ्चभौतिक हुन्छ भन्ने मान्यता आयुर्वेदको हो । आहार एवं औषधी पञ्चमहाभूतले बनेको हुन्छ र शरीर पनि पञ्चमहाभूतले नै बनेको हुन्छ ।

आकाश, वायु, जल, अग्नि र पृथ्वीलाई पञ्चमहाभूत भनिन्छ । हरेक महाभूतको निश्चित गुणहरू हुन्छ। ती गुणहरू नै औषधी वा आहारको विशेषता हुन्छ । कुनै पनि रोग एवं रोगीलाई आवश्यक चिकित्सा कर्म निर्धारण गरिन्छ । तत्पश्चात उक्त चिकित्साकर्म सिद्धिका लागि निश्चित विशेषता वा गुण भएको औषधि वा आहारको चयन गरी प्रयोग गरिन्छ । पञ्चमहाभूतको गुण भन्नाले चिल्लोपन, खस्रोपन, हलुका, भारी, तातो, चिसो, आदि बुझिन्छ । आयुर्वेदमा ४१ प्रकारको गुणहरूको वर्णन छ । औषधीको रस भन्नाले गुलियो, अमिलो, नुनिलो , पिरो, टर्रो र तितो बुझिन्छ ।

यी रसहरू पनि माथि भनिएका महाभूतले नै बनेका हुन्छन् र गुणहरू त्यसै अनुसार बुझ्नु पर्दछ । अनुपानको निर्धारण औषधिको प्रकृति, रोगको प्रकृति र रोगीको अवस्था हेरेर गरिन्छ । अनुपानको सेवन भोजनभन्दा पहिले गर्न गराउन निर्देश गरिएको छैन । यदि अनुपानको सेवन भोजन पहिल्यै गरिए त्यसले शरीरलाई दुब्लो र कमजोर बनाउँछ । जुन अनुपान मूल आहार वा औषधिभन्दा विपरीत गुणवाला हुन्छ तर कार्यशक्ति विरोधी गुणवाला नहुने हुन्छ ।

त्यस अनुपानलाई उत्तम अनुपान मानिन्छ । आयुर्वेदका अनुसार रक्सीको गुण लघु (हलुकापन), रूक्ष (खस्रोपन), सूक्ष्म, तीक्ष्ण हुन्छ र रक्सीको विपरीत मासुको गुण गुरू (भारीपन), स्निग्ध (चिल्लो), स्थूल, मन्द हुन्छ । मासुले रक्सीको मदकारी कार्यशक्तिलाई फरक पार्दैन भन्नुको तात्पर्य रक्सीको कार्यशक्तिलाई न त बढाउँछ न त घटाउँछ । रक्सी भन्दा विपरीत गुण मासुको भएको हुँदा मासुले रक्सीको मात लाग्ने प्रक्रियालाई ढिलो गराइदिन्छ ।

त्यसैगरी मासुको गुरू गुणको कारण पाचन र अवशोषण ढिलो हुनेहुन्छ, जब विपरीत गुणवाला रक्सीको साथमा खाइन्छ त्यसले मासुको पाचन र अवशोषण क्रियालाई तीव्रता दिन्छ । रक्सी मासुसँग खाँदा रक्सीको मात लाग्ने शक्तिमा फरक नपारी केवल मात लाग्ने प्रक्रियालाई ढिलो गराउँछ । साथै विपरीत गुणको कारण रक्सीले मासुको पाचनक्रियालाई तीब्रता दिन्छ । यही गुण विपरीतता र कार्यगत स्वतन्त्रता नै रक्सी मासुसँग खानु पछाडिको विज्ञान हो ।

यसैकारण रक्सीलाई मासुको अनुपानको रूपमा वा मासुलाई रक्सीको अनुपानको रूपमा खाने वैज्ञानिक चलन स्थापित भएको हो । रक्सीको अपेक्षित मदकारी कार्य त रक्सीले निशंकोच गर्छ नै साथै त्यससँगै खाइएको मासु पचेर र अशोषण भइसकेपछि त्यसले पनि उत्तम बल दिने, इम्युनिटी दिने, शरीरमा मांस पुष्टता दिने आदि कार्य गर्छ ती कार्यहरू रक्सीसँग खाइने अन्य सितनहरूको तुलना मासुले श्रेष्ठकर तवरबाट गर्दछ । अतः अनुपानको चिन्तन आयुर्वेदीय चिकित्सा विज्ञानको पृथक र विशेष विषय हो ।

अनुपानको प्रयोग औषधीको प्रभावकारी कार्यमा जति महत्वपूर्ण हुन्छ त्यति नै महत्वपूर्ण आहारको समुचित पाचन, अवशोषण र शक्ति उत्पादनका लागि हुन्छ । अन्य केही अनुपानहरूः कफजन्य रोगको लागि अदुवासँग गुडको सेवन । बात सम्बन्धी रोगमा सुकेको अदुवा (सुण्ठी) सँग गुड सेवन । आमवात रोगमा गुर्जोसँग शुण्ठीको सेवन । सामान्तयाः कुनै पनि धुलो औषधीको प्रयोग गर्दा मह, पानी वा दूध अनुपान प्रयोग गरिन्छ । धुलोलाई चाटेर खानेबेला अनुपान दुईगुना र कढा बानाएर पिउने हुँदा चार गुना अनुपानको प्रयोग गर्ने विधान छ ।

स्रोत : आइएनएस
प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार २१:३५

लोकप्रिय