सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा थारु ‘होमस्टे’ र सङ्ग्रहालय

थारु सांस्कृति लोप हुदै जान थालेपछि युवा यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनी मानिएको थारु समुदायको पहिचान लोप हुन थालेपछि युवा त्यसलाई जोगाउन सक्रिय भएका हुन् । दाङको दङ्गीशरण गाउँपालिका–४ बैबाङका युवाले मिनी थारु सङ्ग्रहालय तथा ‘होमस्टे’ (घरबास) सञ्चालन गरेका छन् ।

त्यहाँ थारु समुदायका वेषभूषा, खानेकुरालगायत अन्य सामग्री राखिएका छन् । थारु संस्कार, संस्कृतिमा थारु समुदाय धनी हो, तर पछिल्लो समय युवाले यो संस्कार र संस्कृति भुल्न थालेको गुनासो बढेको छ, थारु युवा राजेश चौधरीले भने, त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि होमस्टे र मिनी सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् ।

यहाँ थारु समुदायका महिलाले प्रयोग गर्ने गरेका परम्परागत लुगाफाटा, गरगहना, दैनिक प्रयोग गर्ने ढिकी, जातो, कोल, डाली, ढकियाजस्ता वस्तु राखिएको छ । थारु समुदायको अन्य समुदायभन्दा भिन्न संस्कार र संस्कृति थियो । त्यसपछि सक्रिय भएका युवाले चलाएको होमस्टे र मिनी सङ्ग्रहालय हेर्नेको भिड लाग्ने गर्छ । ‘हेर्नका लागि सहर बजारका मानिस आउने, गफगाफ हुने र अनुभव सुन्ने र सुनाउने अवसर मिल्छ,’ चौधरीले भने ।

नजिकै थारु सङ्ग्रहालय चखौरा र थारु राजा दङ्गीशरणले राज गरेको सुकौरा रहेको छ भने बीचमा युवाले मिनी थारु सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् । युवाले यसरी सञ्चालनमा ल्याएका होमस्टेले मठमन्दीर, प्राकृतिक सम्पदा लगायतको अध्ययन अवलोकन गर्न पर्यटक आउने भएकाले पालिकाको पनि आर्थिक समृद्धि हुने गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले बताए ।

होमस्टे, सङ्ग्रहालयले गर्दा अवलोकन गर्नेको सङ्ख्या वृद्धि हुन्छ, उनले भने, त्यसले गर्दा पालिकाको पनि आम्दानी बढ्छ । होमस्टेमा चार कोठामा आरामदायी बिछ्यौनामा पाहुनालाई सुताउने व्यवस्था गरिएको छ । यहाँ थारुको परम्परागत खानेकुरा ढिक्री, माछा लगायतका खानेकुरा खुवाइन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार १६:५०

लोकप्रिय