सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बढ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ ।

‘दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ,’ उनले भने । महापबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर ११० को हाराहारीमा उडान भइरहेको जानकारी दिए । दसैँको समय अर्थात गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै ११३ उडान भएको थियो ।

जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो । असोज ३० गते ११० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ । तिहार, छठ लगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो ।

उनका अनुसार तिहार र छठका कारण आन्तरिकतर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ । आन्तरिकतर्फ दैनिक दुईतर्फी गरेर ३०० उडानमार्फत १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपियो

जाडो यामको नयाँ उडान तालिकामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपिएको छ । विमानस्थलका अनुसार कतार एयरवेज, फ्लाई दुबईलगायत एयरलाइनसले उडान बढाएका छन् । एयर ट्राफिक व्यवस्थापन गरेर उडान सहजीकरण भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका महाप्रबन्धक तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार १५:१०

लोकप्रिय