सूचनाको शक्ति - The Power Of Information

        

तिहारमा सशस्त्र प्रहरीको कुकुर पूजा (तस्वीर कथा)

कुकुर तिहारको अवसरमा सशस्त्र प्रहरी बलले आफ्ना तालिम प्राप्त कुकुरको पूजा गरेको छ । आइतबार नैकापमा आयोजित कार्यक्रममा कुकुरलाई माला र टीका लगाएर पूजा गरिएको हो । नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ । हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ ।

कुकुरलाई फूल, माला र टिका लगाइदिएर खानेकुराहरु दिइ पूजा गर्ने परम्परा रही आएको छ । सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य तथा डग हेण्डर उपशाखाका सशस्त्र प्रहरी नायब निरीक्षक रमेश उप्रेतीले सशस्त्र प्रहरी बलसँग चार जातका कुकुरहरु रहेको र जसमा जर्मन सेफर्ड, ल्याब्रेडर, ककर स्पाइनर र गोल्डे डिटिबर रहेको बताए ।

कुकुरहरुलाई लागुऔषध, हातहतियार तथा बिष्फोटक पदार्थको खोजि कार्य र अपराध अनुसन्धानमा तालिम दिइ काम गराइएको बताए । कुकुरहरुले बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने गरेको बताए । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो ।

घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । यस अवसरमा सशस्त्र प्रहरीका तालिम प्राप्त कुकुरबाट कला प्रदर्शन गरिएको थियो ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार १३:३८

लोकप्रिय