सूचनाको शक्ति - The Power Of Information

        

इजरायल घटनाले चुँडियो मन, तुहियो विदेश सपना

अमन भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु, गाउँमै आर्थिक उपार्जनको बाटो खोज्नेछु ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए । पढाइसँगै राम्रो आम्दानी हुने आसमा इजरायलको सपना देख्दै आएका मेहता इजरायल घटनापछि भने हच्किएका छन् । पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका अग्रज सहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुँडिएको छैन, वर्षौंदेखिको उनको सपनासमेत तुहिएको छ ।

पढ्दापढ्दै इजरायल गएका साथीहरूले आतङ्कवादी आक्रमणमा ज्यान गुमाएको घटनापछि भने अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् । विदेश नजाने निधोमा आफूलाई पुर्याएका छन् । उनी भन्छन्, ‘चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाई जाँदा मैले स्थानीयस्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनि बिदेसिने समयलाई पछि सारेको थिए । उनी गुमाउनुपरेका साथीभाईसँगको अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् ।’

इजरायल घटनापछि मन चुडिएको बताउने अमन अब बिदेसिने आफ्नो सपना सपनामै सीमित भएको बताउँछन् । उनी भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । सिकेको ज्ञानलाई गाउँघरमै व्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु ।’ हुनतः हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए ।

त्यसबेला अनुसन्धान तथा सिकाईका रूपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यावसायिक खेतीका रूपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् । गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालिन रूपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ ।

पछिल्लो घटनापछि त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार । अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । पाँच कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेसालाई अघि बढाउने तयारीमा पुगेका छन् । आफू अध्ययनकै क्रममा रहेको र बिदेसिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने बिस्तार गर्ने सोच रहेको अमनले बताए ।

उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए । स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औँल्याए । सरकारले किसानको हकहीतमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यावसायिक रूपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार ११:१३

लोकप्रिय