२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

केराखेती मासेर फूलखेती, दिनमै सात क्विन्टल बिक्री

सत्यपाटीसत्यपाटी । चितवन । २०८० कात्तिक २५ गते शनिबार

चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका किसान महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्त रुपमा फूलखेती थालेका हुन् । तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताए ।

विगतका वर्षमा करोडौंको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ फूलखेती गरिएको उनको भनाइ छ । कालिका–५ का स्थानीय बासिन्दा पौडेल एक प्राङ्गारिक कृषिको अभियन्तासमेत हुन् । उनले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारिक खेती गर्दै आएका छन् ।

‘विगतमा केराखेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौं,’ उनले भने, ‘स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सक्छौं ।’ उन्नति कृषि फार्ममार्फत उनीहरुले ६० हजार सयपत्री फूलका बिरुवा रोपेका छन् । किसान पौडेलले भने, ‘राम्रो बजारीकरण हुनसकेमा एउटा बिरुवाबाट हामीले ३० देखि ४० रुपैयाँसम्म लिन सक्छौं ।’

दुई जना मिलेर फूलखेती सुरु गरेका उनीहरुले सुरुमा जनही पाँच लाख ५० हजार रुपैयाँ लगानी भएको बताए । यसवर्षको फूल खेतीबाट १५ लाख रुपैयाँ आम्दानी हुने आशा उनीहरुको छ । ‘पहिला केराखेती गर्दा रासायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको थियो । यसलाई विस्तारै सुधार्दै प्राङ्गारिकतर्फ लैजाने योजना छ,’ पौडेलले भने ।

रत्ननगर नगरपालिका–१५ घर भएका कृषक वाइबाले यहाँ उत्पादन भएका फूल काठमाडौं, पोखरा, बुटवल लगायत सहरमा निर्यात गरिने बताए । वाइबाले स्थानीय पालिकाले केहीमात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेको जानकारी दिए । ‘हाल दैनिक सात–आठ क्विन्टल फूलको बिक्री हुँदै आएको छ,’ उनले भने । हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइबाले अब दुई–तीन दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताए ।

स्रोत : रासस
प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार