सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा १३४४ वटा प्लास्टिकका फूलमाला जफत

बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर क्षेत्रका मुख्य बजारमा अनुगमन गर्दा १३ वटा पसलबाट एक हजार ३४४ वटा प्लास्टिकका फूलमाला जफत गरेको छ । ठाकुरबाबा नगरपालिकाका मुख्य बजार भुरीगाउँ, ठाकुरद्वारा, बकुवाका १३ वटा पसलबाट शुक्रवार झन्डै ८० हजार रुपैयाँ बराबरका प्लास्टिकका माला जफत गरिएको हो ।

प्लास्टिकका माला बिक्री नगर्न नगरपालिकाले सूचना निकाले पनि अटेरी गरेर बिक्री भइरहेको गुनासो आएपछि नगरपालिकाको टोली अनुगमनमा गएको अनुगमन टोलीका सदस्य ध्रुवराज बमले जानकारी दिए । नगरपालिकाले गएको वर्षदेखि औपचारिक कार्यक्रममा खादा तथा ब्याच नलगाउने गरेकोमा यस वर्ष तिहार लक्षित प्लास्टिकका माला बिक्री नगर्न अनुरोधसहित सूचना निकालेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए ।

अनुगमनको पहिलो चरणमा शुक्रवार प्लास्टिकका माला मात्रै बरामद गरिएको र तिहारको भाइटीकाभन्दा एक–दुई दिनअघि फेरि पनि अनुगमन गर्ने र त्यति बेला पनि प्लास्टिकका माला बिक्री गरेको पाइए माला बरामदसँगै जरिबाना लिने अनुगमन समितिका संयोजक इन्द्रबहादर राजवंशीले बताए ।

प्लास्टिकजन्य सामग्रीले वातावरणमा असर पुग्ने भएकाले प्लास्टिकका माला आफ्नो पालिकामा प्रतिबन्ध लगाइएको ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले बताइन् । अघिल्लो वर्ष स्थानीय तथा फूल उत्पादनमा प्रेरित व्यवसायीले गुनासो गरेपछि अहिले आफैँले नीति तथा कार्यक्रम ल्याएरै यस वर्षदेखि प्लास्टिकका माला आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको उनले बताए । अनुगमनमा सचेत गराइएका केही व्यापारीबाट माला जफत गरेको र यसलाई निरन्तरता दिने उनको भनाइ छ ।

प्लास्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र पैसा बाहिरिने तथा मानव जीवनमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको ठाकुरबाबाका मेयर तिलकराम लम्सालले बताए । प्लास्टिकजन्य फूलका माला बिक्रीमा रोक लगाउँदा स्थानीय फूलले बजार पाउने भएपछि फूल उत्पादन गर्ने किसानसँगै खुसी भएका छन् ।

पालिकाले पनि गाउँघरमै फुलेका फूलको माला प्रयोग गर्न अनुरोध गरेको छ । आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा पालिकाले प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्दै लैजाने बताउँदै पालिकाअन्तर्गत रहेका सबै सरकारी तथा गैरसरकारी कार्यालय, उद्योगी, व्यवसायीसहित नगरवासीलाई चाडपर्वमा प्लास्टिकका माला प्रयोग नगर्न सूचना प्रकाशित गरेको थियो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी पालिकाले २०७९ साउनदेखि राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकका फूलमाला, गुच्छाको उत्पादन, आयात, बिक्री वा भण्डार गर्न रोक लगाएको थियो । यो निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार ०८:२१

लोकप्रिय