हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक सुरु भएको छ । आजदेखि यमपञ्चक सुरू भएको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन आज ‘काग तिहार’ । आज बिहानै स्नान गरी मिष्ठान्न परिकार बनाएर कागलाई सम्झेर घरको छत वा घरबाहिर पात वा दुना टपरीमा कागलाई खानेकुरा राखिन्छ । आज कागलाई पूजा आजा गरी खान नदिई आफूले खाएमा पापको भागी हुनपर्ने धार्मिक मान्यता छ ।
त्यसैले आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का…का…का…भन्दै बोलाएर खान दिइन्छ । धर्मशास्त्र अनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।
कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो । वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर मात्र ल्याओस् भन्ने कामनाका साथ काग तिहार मनाउने गरिन्छ । गाँउघरमा अझै पनि घर अगाडि काग करायो भने केही सन्देश वा घरमा पाहुना आउने जानकारीको दिएको भन्ने विश्वास गरिन्छ । कागलाई चराहरू मध्यको निकै उदण्ड, धूर्त र चलाख पंक्षी पनि मानिन्छ ।
वैदिक सनातन हिन्दू धर्ममा कागलाई यमदूतका रुपमा चित्रण गरेको पाइन्छ । कागले यमलोकमा गएर पृथ्वीबासीका कर्मका बारेमा चित्रगुप्तलाई सूचित गर्दछ र यमराज रहेसम्म कागको विनाश सम्भव नभएको धार्मिक मान्यता छ । अक्सफोर्ड विश्वविद्यालयको अध्ययन भनिएको छ, ‘कागको दिमागले लगभग चिम्पाञ्जी र मानिसको जस्तै तरिकाले काम गर्छ । कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ ।’
कागलाई अशुभ सन्देश प्रवाह गर्ने पंक्षीको रुपमा लिइन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्दथे । आकाश मार्गबाट छिटो सन्देश ल्याउने र लैजाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास रहिआएको छ । काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।
विशेषगरी कागको कालो र केही खैरो प्रजातिका पनि हुन्छन् । कागको रङ हुनुको पछाडि रोचक रहस्य यस्तो छ; पहिलापहिला काग सेतो रंगको हुने गर्थ्यो । एकदिन ऋषिले जब एउटा सेतो कागलाई अमृत खोजीमा पठाए तब उसलाई अमृतको जानकारी मात्रै लिनू, त्यसलाई नपिउनू भनेर आदेश दिए । उक्त कागले एक वर्षसम्मको परिश्रमपछि अमृतको जानकारी पाउन सफल भयो । उसलाई अमृत पाएपछि पिएर अमर हुने लोभ लाग्यो र पिइदियो । सो कुरा थाहा पाएका ऋषि क्रोधित भए । क्रोधको आवेगमा उनले कागलाई श्राप दिए ।
उनको श्राप यस्तो थियो, ‘अबदेखि तँलाई घृणास्पद पंक्षी मानिनेछ । अशुभ पक्षी मानेर मानवजातिले सधैँ निन्दा गर्नेछ । तैँले अमृत पान गरेको छस्, त्यसैले तेरो स्वाभाविक मृत्यु कहिल्यै हुने छैन । तँलाई कुनै रोग लाग्ने छैन र वृद्धावस्था पनि आउने छैन । पितृश्राद्धको सोह्र दिन तँलाई पितृको प्रतीक सम्झेर आदर गरिनेछ ।’ यति भनेर ऋषिले आफ्नो कमण्डलुको कालो पानीमा त्यस कागलाई डुबाइदिए । काग सेतोबाट कालो बन्यो । त्यसै बेलादेखि काग कालो बनेको धार्मिक मान्यता छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं