वि.सं.१९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार वि.सं.१८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रो पटक हो । यस पटक दरबार चर्किएको मात्र छ ।
यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनः निर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका १०० पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रुपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
‘दुई पटक भत्किसकेको दरबारमा अहिले पनि उस्तै जोखिम निम्तिएको छ, जिल्लाको इतिहासलाई जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ,’ उनी भन्छन्, ‘जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनः निर्माण गरिएको थियो, अब यसरी समयमै पुनः निर्माण गर्न पनि सहज छैन ।’ यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरुपमा भत्किएको थियो ।
उक्त भुइँचालोबाट आठ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्याङ्क छैन । नब्बे वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पुर्याउने शक्तिशाली विपदका रुपमा जाजरकोटवासीले लिन्छन् । सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो ।
त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रुपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा सङ्घीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ । रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए ।
यो दरबार सुरुमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए । राजा इन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने यकिन जानकारी भने छैन । ‘कसैले सात तलाको भन्छन्, धेरैजसोले पाँच तलाको मात्र हो भनेर दाबी गरेका छन्,’ शाहले भने, ‘जे होस् अहिलेको भन्दा अग्लो थियो, भूकम्पको क्षतिपछि पुनः निर्माण गर्दा भने तीन तलामा झारिएको हो ।’

गत शुक्रबार राति गएको भूकम्पका कारण क्षतिग्रष्ट जाजरकोट दरबार । तस्वीर : रत्न श्रेष्ठ । रासस
यो दरबारको पुनः निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका इन्जिनियर बोलाइएको थियो । ‘यसमा प्रयोग भएका झ्यालको कला र स्वरुप हेर्दा सुरुकै स्वरुपमा निर्माण भएको देखिन्छ, तर अहिले यसका धेरै मौलिक स्वरुप अस्तित्वमा छैनन्,’ उनले भने, ‘सरकारले रेखदेखको राम्रो व्यवस्था गर्न नसक्दा यो हराएको हो ।’ जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो ।
यसलाई २०५१ सालमा पुनः निर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताए । तीन पटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए ।
जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए । प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रुपमा परिणत भएको शाह बताउँछन् ।
‘यो दरबार ऐतिहासिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण छ, यो जाजरकोटको मात्र नभएर सिङ्गो कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो,’ उनले भने, ‘यसको मौलिकता, इतिहास र पुरातात्विक महत्व सुरक्षित हुने गरी पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी बनाउनुपर्छ ।’ अहिले सञ्चालमा रहेको जिल्ला प्रशासन कार्यालयलाई आफ्नो भवन बनाएर सार्नुपर्ने उनको भनाइ छ । सरकारी कार्यालय रहँदा यसको इतिहास मेटिँदै जाने तर्क उनको छ ।
यसपटकको भूकम्पले जाजरकोट दरबारसँगै त्यतिबेलाकै स्वरुपमा बनेका अरु ऐतिहासिक घर पूर्णरुपमा भत्किएका छन् । खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका ती दुईवटा घरलाई स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जङ्गबहादुर शाहका छोरा समरध्वज, रणध्वज र सुरबहादुर शाहले १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए । अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवद्र्धन, अमरबहादुर, नरसम्शेर र नरजङ्ग शाहले १९५० सालमा बनाएका हुन् ।
दरबारकै रुपमा चिनिने यी घर राज्य सञ्चालनका लागि भन्दा पनि जाजरकोटी राजाका भाइ–छोरा बस्नका लागि भनेर दरबारकै स्वरुपमा बनाइएको थियो । राजाका भाइ–छोरा धेरै भएर उनीहरुका आवास व्यवस्थापनका लागि ती घर बनेको शाह बताउँछन् । दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि यसपटकको भूकम्पले तहसनहस भएका छन् । ती संरचना पनि मौलिक स्वरुपमा छन् ।
‘जाजरकोट राज्यमा एकजना मन्त्री राख्ने र राज्यमन्त्रीको रुपमा काम गर्नेलाई काजी भनिन्थ्यो, राज्यमा काम गर्नका लागि तोकिएका मन्त्री अर्थात् काजीको जिम्मेवारी पाएका व्यक्ति र तिनका परिवार जाजरकोट राजाको दरबारको छेउमै बस्ने गरेको पाइन्छ,’ उनले भने, ‘उनीहरुले घर बनाउँदा पुरानै स्वरुप अपनाएको हुन सक्छ, त्यतिबेलाका मन्त्री र काजीको विशेष सुविधाको पूर्ति जनताबाटै उठाइएको करबाट व्यवस्था हुन्थ्यो ।’
सत्यपाटी संवाददाता । जाजरकोट