मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायाँनाथ रारा गाउँपालिका–६ मुन्डु बस्ने ३१ वर्षीय गोरखबहादुर शाही र सोही ठाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका बस्ने ३१ वर्षीय गोपाल बोहरा रहेका छन् । उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
दुबैमाथि अनुसन्धान जारी भएको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले दिउँसो सार्वजनिक गर्ने बताए । प्रहरी स्रोतका अनुसार दुबै हत्या गरिएका परिवारका नातेदार हुन् । कात्तिक ८ गते राति करिब साढे ८–९ बजेतिर छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र पाँच महिने छोरा रहरको हत्या भएको थियो ।
कात्तिक ८ गते दसैंको टीकाको भोलिपल्ट बेलुका माइतीबाट घर फर्केकी श्रीदेवीसहित चारै जनाको राति हत्या भएको थियो । हत्यापछि शाही र बोहराले घरमा ताला लगाएर भागेका थिए । छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेका थिए । श्रीदेवीको माइतमा फोन गर्दा घर फर्किसकेको बताएपछि छिमेकीले भोलिपल्ट प्रहरीलाई खबर गरेका थिए । खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा चारै जनाको शव फेला परेको थियो ।
शाही श्रीदेवीका सानोबुवा हुन् । उनी नातामा काका पनि पर्छन् । बोहरा श्रीदेवीका बूढा मावलीतर्फ नातामा देवर पर्छन् । प्रहरी स्रोतका अनुसार दुबैले सुन र नगद लुट्ने योजनाका साथ घरभित्र छिरेका थिए । श्रीदेवीको कानमा लगाएको गहनासहित करिब सात–आठ तोला सुन उनीहरूले लुटेको प्रहरीले जनाएको छ । उनीहरूले नगद पनि लुटेर लगेका थिए । तर, के कति नगद भन्ने खुलेको छैन ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार शाही र बोहरा सुरूमा श्रीदेवीको घर पसे । राति नातामा पर्ने व्यक्ति घरमा आउँदा श्रीदेवीले अन्यथा मानिनन् । श्रीदेवी आफ्नो पाँच महिने छोरासँग थिइन् । जेठा छोरा मनोज र छोरी अप्सरा अर्कै कोठामा थिए । गोपाल बोहरा उनीहरूको कोठामा छिरे । दुबैले गोपाललाई चिनिहाले । उनीहरू मोबाइलमा गीत सुनिरहेका थिए । उनले मोबाइलको भोलुम ठूलो बनाइदिए । गोरख श्रीदेवीकै कोठामा थिए ।
मोबाइलको भोलुम ठूलो बनाएपछि बोहरा श्रीदेवीकै कोठामा फर्किए । कानको गहना, अन्य सुन र नगद लुटेपछि गोपालले श्रीदेवी र पाँच महिने छोरालाई खुकुरी हानेर मारे । त्यसपछि गोरख र गोपाल बाहिर निस्किए । गोपालले भने, ‘छोराछोरीले चिन्छन्, अब के गर्ने ?’ ‘त्यसपछि मनोज र अप्सराको हत्या गर्ने निचोडमा पुगे,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने । गोपालको बयान अनुसार मनोज र अप्सराको हत्या गोरखले गरेका हुन् ।
हत्यापछि ढोकामा ताल्चा लगाएर दुबै जना भागेका थिए । दुबैले हत्या स्वीकार गरिसकेको ती अधिकृतले बताए । ‘उनीहरूले नगद कहाँ लगे, के गरे भन्ने विषयबारे सोधपुछ भइरहेको छ,’ ती अधिकृतले भने । श्रीदेवीका श्रीमान् विगत पाँच–छ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतार जाने–आउने गरिरहेका थिए । दसैंको बेला सामूहिक हत्या भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मुगु र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु