सूचनाको शक्ति - The Power Of Information

        

टेलिकमका अधिकृत ५४ दिनदेखि कार्यालयबाटै बेपत्ता

नेपाल टेलिकम झापा सुरुङ्गा शाखामा कार्यरत् लेखा अधिकृत दिलीप सुवेदी बेपत्ता भएको बुधबार ५४ दिन पुगेको छ । कार्यालयका निमित्त प्रमुख समेत रहेका उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । दिलीप बेपत्ता भएपछि उनको परिवार पीडामा छ ।

विराटनगर महानगरपालिका–४ राजवंशी चोकका सुवेदी लेखा अधिकृत (छैटौं तह) उत्तीर्ण गरेर २०७९ फागुनदेखि टेलिकल सुरुङ्गामा कार्यरत थिए । तर उनी २०८० भदौ ३० गते शनिबार बिहान करिब साढे ९ बजेपछि बेपत्ता भए । उनको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

छोरो बेपत्ता भएको यतिका दिन पुग्दा पनि केही पत्ता लाग्न नसकेकाले ६७ वर्षीय बुवा नेत्रप्रसाद सुवेदी विक्षिप्त छन् । झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार सुवेदी बेपत्ता भएकै बेलाबाट कोशी प्रदेश प्रहरीको अनुसन्धान टोली र झापा प्रहरीले खोजी तीव्र पारेको छ ।

तर, उनी बेपत्ता हुनुको कुनै ‘क्लू’ नै फेला पर्न नसकेको रिजालले बताए । ‘हामीले विभिन्न तरिकाले अनुसन्धान गरिरहेका छौं, कुनै एंगलबाट केही क्लू नै फेला परेको छैन,’ उनले भने । उनलाई कसैले बेपत्ता पार्यो कि भन्ने पाटोबाट प्रहरीले खोज्यो । ‘कसैले अपहरण गरेको हो भन्ने पाटोबाट हामीले हेर्यौं तर केही पत्ता लाग्न सकेन,’ उनले भने ।

के भएको थियो ?

दिलीप भदौ ३० गते शनिबार बिहान करिब ६ः१५ बजेतिर सुरुङ्गास्थित टेलिकम कार्यालयमा पुगेका थिए । उनी सुरक्षागार्ड ओमप्रकाश खरेललाई स्कुटर लिएर चिया पिउन भन्दै बाहिर निस्किए । उनीहरू दुबै बिहान ७ बजेतिर चिया पिएर कार्यालयमा फर्किए । दिलीप कार्यालयको माथिल्लो तलामा रहेको गेष्ट रुममा आराम गर्न भन्दै गएका थिए ।

त्यसपछि सुरक्षा गार्ड गेटमा आफ्नो ड्युटीमा लागेका थिए । ‘दिलीपले करिब ८ः२० बजेदेखि ८ः४७ बजेसम्म बुहारी ब्रजुना भट्टराईसँग २७ मिनेटजति भिडियो कल गरेको पाइयो,’ बुवा नेत्रप्रसाले भने । उनले बुहारीसँग पनि सामान्य कुराकानी नै गरेका दिलीपलाई मध्यान्ह करिब १२ बजेतिर पुनः ब्रजुनाले फोन गर्दा फोन अफ भएको थियो ।

दिनभरि प्रयास गर्दा पनि फोन लागेन बताए । छोराको फोन नलागेपछि विराटनगरबाट आफूहरू बेलुका करिब ६ बजेतिर डेरामा बुझ्न लगाउँदा डेराबाट बिहानै निस्केपछि त्यहाँ नआएको जानकारी पाएको नेत्रप्रसादले बताए ।

‘डेरामा थाहा नभएपछि कार्यालयमा बुझ्दा बिहान कार्यालयमा प्रवेश गरेको तर त्यहाँबाट बाहिर निस्केको सुरक्षागार्डले नदेखेको जानकारी आयो,’ उनले भने, ‘उनले चलाउने स्कुटरको चाबी र मोबाइलको चार्जर पनि कार्यालयकै गेष्ट रुममा थियो, हामी सोही साँझ प्रहरी चौकी सुरुङ्गामा खोजीका लागि अनुरोध गर्यौं ।’

त्यसपछिको प्रहरी अनुसन्धानका क्रममा दिलीपको कोठाको तलासी लिँदा उनको पर्स, चस्मा समेत कोठामा नै भेटिएको थियो । दिलीप कोठाबाट कार्यालयसम्म टी–सर्ट, ट्रयाक र चप्पल लगाएर दिलीप पुगेका थिए । नेत्रप्रसादले घटना शंकास्पद भएको भन्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन् । चारैतिर पर्खाल लागेको कार्यालयबाट निस्किएको भए सुरक्षागार्डले कसरी देखेनन् ?

‘अहिलेसम्म छोरोको सास वा लास पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘यत्रो दिन बेपत्ता हुनु कुनै संयोग मात्र हो त ?’ उनले यत्रो दिनदेखि प्रहरीबाट खोजी भए पनि छोराको अवस्थाबारे जानकारी नपाएका कारण घर परिवार अत्यन्तै पीडामा रहेको बताए । उनले अनुसन्धानमा संलग्न प्रहरी प्रशासनले पहिलेदेखि नै पारिवारिक कारणले गर्दा नै बेपत्ता भएको भनेर परिवार केन्द्रित मात्रै भएर अनुसन्धान गर्दा अपेक्षित नतिजा आउन नसकेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०८:३७

लोकप्रिय