सूचनाको शक्ति - The Power Of Information

        

न रह्यो घर, न रहिन् भदैनी, त्यही भेट अन्तिम रहेछ !

आठबिसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाएकी थिइनन् । यही कात्तिक १७ गते उनी घरको कामबाट फुर्सद मिलाएर भेटघाटको लागि माइतीमा गइन् ।

धेरैपछि आएकी बहिनीलाई माइतीमा मीठोमसिनो खुवाउनुपर्छ भनेर उनका दाइले मासु किनेर ल्याए । अनि सबैजना खाना खाएर सुख दुःखका कुराकानी गर्दै थिए । हीराका दाइले रात धेरै गइसक्यो बहिनी अब सुत्नुपर्छ भनेपछि सबैजना आफ्नो आफ्नो कोठामा गए । उनीहरु सबैजना सुत्नेबेला घडीमा रातको साढे ११ बजेको थियो ।

‘म माइतीमा पाहुना आएको थिएँ,’ हीराले भनिन्, धेरैपछि माइतीमा आउँदाको खुसी धेरै थियो । सबैजना सुख–दुःखका कुरा गरेर बसिरहेका थियौं । दाइले अब धेरै रात बित्यो सुत्नुपर्छ भनेपछि हामी सबै सुत्न आफ्नो आफ्नो कोठामा गयौं । कोठामा भर्खर सुतेका थियौं, घर हल्लिन थाल्यो एकैछिमा सबै घर तल खस्यो ।’

भाग्यले आफ्नो ज्यान जोगिएकी हीराले बाहिर चिच्यावट आवाज आएपछि मात्रै घर भत्किएको थाहा भएको उनले बताइन् । ‘हामी सबै घरभित्र पुरियौं । गाउँका बाँचेका दाइभाइ आएर आधा घण्टापछि हामीलाई निकाल्नुभयो,’ हीराले भनिन्, ‘सबै बेहोस अवस्थामा थिए, कोही बाँच्नुभयो भने कोही सधैँको लागि छोडेर गए ।’

दाइभाइ र भदाभदैसँग भेट्न आएकी हीराले सबैसँग भेट्न पाइन् । तर दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ । ‘कानले सबै कुरा सुनेको थिएँ । भदैनीले फूपु बचाउनुहोस् बचाउनुहोस् भनेको याद ताजै छ, अलि छिटो निकालेको भए सकभर भदैनी बाँच्थिन् होला,’ उनले भनिन् । ‘भदैनी छोडेर गइसकी । अरू दाइहरुरू घाइते हुनुहुन्छ, न त घर रह्यो न त भदैनी,’ उनको विलौना छ ।

माइतीमा मात्रै होइन, आफ्नो घरमासमेत त्यस्तै पीडा रहेको उनी बताउँछिन् । उनको घरसमेत पूर्णरूपमा क्षति भएको छ । मानवीय क्षति भने हुन पाएन । तथापि घर भने केही बाँकी छैन् । ‘हामीले भोग्नसम्म पीडा भोगिरहेका छौं । माइतीमा यति ठूलो समस्या भयो, घर केही रहेनन् । आफ्नो घर पनि सबै गइसक्यो । सबै तिर समस्या नै समस्या छ,’ उनले भनिन्

सरकारले अहिले राहत त दिइरहेको छ । तर पुनःस्थापनाको काम छिटो गरिदिन उनको सरकारसँग माग छ । अहिले जाजरकोट र रुकुम पश्चिममा अधिकांश गाउँमा यस्तै पीडामा मानिस रहेका छन् । यो पीडामा मल्हम लगाउनको लागि सरकार र विभिन्न निकायबाट राहत सहयोग त गइरहेको छ । तर राहत वितरणमा ढिलाइ भइरहेको गुनासो पनि छ ।

मनोविद्हरूले भूकम्पबाट प्रभावित भएकालाई मनोसामाजिक समस्या देखिनसक्ने जनाउँदै सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । विशेषगरी भूकम्पको त्रासमा रहेको महिला बालबालिकालाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन मनोविद्हरूको सुझाव छ ।

स्रोत : रासस
प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०८:२६

लोकप्रिय