सूचनाको शक्ति - The Power Of Information

        

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो ।

मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले बताइन् ।

उनले भनिन्, ‘कस्तो हुन्छ भनेर गत वर्ष चार कठ्ठा जग्गामा फूलखेती गरेको राम्रो भएपछि यस वर्ष आफ्नै एक बिघा जग्गामा फूलखेती गरेको गएको वर्षमा भन्दा यसपालि फूलको माग बढी छ ।’ मागअनुसार बजारमा फूल पठाउन सकेको छैन, उत्पादन भएका फूल समयमै टिपेर माला उनेर स्थानीय बजारदेखि बाँके, दाङ, काठमाडौंसम्म पठाउने गरेको बताइन् ।

बिरुवा लगाएको लगभग ८० देखि ९० दिनमै फूल बेच्न तयार हुन्छ । एक कठ्ठा जग्गामा एक क्विन्टलसम्म फूल उत्पादन हुने थारुको भनाइ छ । पछिल्लो समयमा बर्दियाको बारबर्दिया र राजापुरमा पनि केही किसानले फूलखेतीको सुरुआत गरेको थारूले जानकारी दिइन् । गत वर्ष फूल प्रतिकिलो रु एक हजारदेखि रु एक हजार २०० सम्म बजारमा बिक्री भएको थियो ।

आफूले गत वर्ष प्रतिकिलो रु ५५० मा घरैबाट बिक्री गरेको थारूको भनाइ छ । बर्दियाका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, विवाहमा गाडी सजाउन मिल्ने बाह्र महिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा फूलखेती गर्न थालेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०७:०९

लोकप्रिय