सूचनाको शक्ति - The Power Of Information

        

राजधानीका मुख्य व्यापारिक क्षेत्रमा तिहारको चहलपहल बढ्योे

काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गरेकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउँछिन् । केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ ।

‘विशेषगरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य छ । व्यापार पनि उल्लासमय बन्दै गएको छ,’ उनी भन्छिन् ।

शुभ दिपावली नजिकिएसँगै काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी लगायतका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टिका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्ने मानिसको घुइँचो देखिन्छ ।

तीन वर्षदेखि भाइ मसालाका सामग्री बजारबाट ल्याई आफैँ प्याकेजिङ गर्दै आएकी तुलाधर दिउँसोको समयमा व्यापार र राति प्याकेजिङको काम गर्ने गरेको बताउँछिन् । ‘भाइ मसलाको लागि सामान बाहिर बजारबाट ल्याएका हुन्छौँ । दिउँसोको समयमा व्यापार गर्छौँ । राति मलगायत अन्य साथीले प्याकेजिङको काम गर्छौँ । यसरी गरिएको व्यापारबाट आम्दानीमा केही वृद्धि हुन्छ,’ उनी भन्छिन् ।

असनचोकमा फुटपाथमा व्यापार गर्दै आएकी शारदा शाहीले विगत ३० वर्षदेखि माटोका दियो लगायतका केही पूजा सामाग्री बेच्दै आएकी छन् । आफ्ना बाबुआमाले परापूर्वदेखि गर्दै आएको पेसालाई अँगाल्दै आएकी शाहीले अन्य समयमा फलफूल तथा पूजाका सामग्री बेच्दै आएकी छिन् । शाहीले चाडवाड लक्षित व्यापारमा महानगरले सबै व्यापारीलाई समान व्यवहार नगरेको बताउइन् ।

‘महानगरले एउटै ठाउँमा एकातिर फुटपाथ राख्न दिन्छ अर्कोतिर हटाउँछ । चाडवाडको समयमा दुई चारदिन फुटपाथमा व्यवस्थित तरिकाले व्यापार गर्न दिनुपर्छ । त्यो व्यवस्था महानगरले गर्नुपर्छ,’ उनी बताउँछिन् । व्यापारिक क्षेत्रको रुपमा रहेको असन क्षेत्रलाई व्यवस्थित गर्न असन सेवा समिति भएपनि अस्तव्यस्त रहेको उनी बताउँछिन् ।

२० वर्षदेखि असनचोकमा तिहारको समयमा मखमली फूलको व्यापार गर्दै आएकी सुुनिता उप्रेती तिहारमा व्यापार सन्तोषजनक भएता पनि अन्य समयमा नभएको बताउँछिन् । ‘तिहारमा व्यापार सन्तोषजनक छ । अन्य समयमा छैन । तिहारको पाँच–सात दिन गरिने व्यापारले वर्षभरिलाई पुर्याउनुपर्ने वाध्यता छ ।’

अन्य समयमा तरकारी व्यापार गर्दै आउनुभएकी उप्रेतीले तिहार नजिकिएसँगै सर्वसाधारणको माग तिहार केन्द्रित सामग्रीमा हुनाले र छोटो समयमा तुलानात्मक रुपमा आम्दानी बढी हुनाले मखमली फुलको माला बिक्री गरेको बताउँछिन् । जताजतै व्यापारीको कोलाहलमा तिहारका सामाग्री किन्ने सर्वसाधारणको घुइँचोले अहिले असनचोक अस्तव्यस्त बनेको छ ।

व्यापारिक केन्द्रका रुपमा रहेको असन, इन्द्रचोक मानिस, सवारी साधनको आवतजावतले व्यस्त देखिन्छ । इन्द्रचोकमा तिहारको लागि झिलीमिली बत्ती बिक्री गर्दै आएका कुलप्रसाद महतोले चाडवाडको बेला व्यापार सुरु गरे । आफ्ना भाइले गर्दै आएको व्यापारबाट आकर्षित भएर यसपटक महतोले पनि झिलीमिली बत्ती बिक्री गर्छन् । व्यापारिक अनुभव नभएका कारण व्यापार सन्तोषजनक नभएको उनी बताउँछन् ।

‘भाईको व्यापारबाट आकर्षित भएर मैले पनि व्यापार सुरु गरे तर व्यापारिक अनुभव कम भएका कारण खासै व्यापार छैन,’ उनी भन्छन् । महतोजस्तै इन्द्रचोकमा चप्पलको व्यापार गर्दै आएका कृष्ण यादवले तिहार नजिकिएसँगै सप्तरङ्गी टिकाको व्यापार गर्दै आएको बताउँछन् । ‘वर्षमा पाँच–सात दिन गरिने सप्तरङ्गीको व्यापार सन्तोषजनक रहने तर अन्य समयमा व्यापार सामान्य रहने गरेको छ । हिजोआज रङ्ग लैजाने मानिसको चाप बढ्दो छ,’ उनी भन्छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०६:२४

लोकप्रिय