सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुरमा प्लाष्टिक माला बिक्री वितरणमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठ पर्व लगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

उनका अनुसार पछिल्लो समय चाडबाड, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीको प्रयोगले वातावरण प्रदूषणका साथै स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने गरेको छ ।

सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला लगायतका सामग्रीको बिक्री, वितरण नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०६:१६

लोकप्रिय