सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि तिहार सुरु

आज धनतेरस मनाइँदै, धातुका नयाँ सामान किनेर प्रारम्भ गरिँदै तिहार

कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई ‘धनतेरस’ भनिन्छ ।

दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज ‘धनतेरस’ मनाइँदैछ । जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ ।

पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजा आराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ ।

आज दिउँसो १२ः५० बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादिको भोगले दिउँसो १ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुनेछ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको संस्कृतिका ज्ञाता बताउँछन् । ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०५:३५

लोकप्रिय