नेपालगन्ज उपमहानगरपालिका भूकम्पको जोखिममा छ । यहाँका वडा नम्बर ३ र ७ अझ बढी जोखिममा छन् । पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने प्रक्षेपणपछि नेपालगन्जमा पूर्व तयारी स्वरुप सचेतनासंगै विभिन्न कामहरु भइरहेका छन् ।
जोखिमयुक्त ठाउँहरुको नक्सांकन गरेर सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसका लागि वडा नम्बर ३ र ७ लाई छनौट गरी पूर्व तयारीका कामहरु भइरहेका छन् । यसका अलावा अन्य वडाहरुमा पनि सचेतीकरणका कार्यक्रम भइरहेका छन् ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले आज वडा नम्बर ८ र ११ का सरोकारवालासंग वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिकाका बारेमा छलफल एवं अभिमुखीकरण गरेको छ ।
वडा अध्यक्ष, वडा सचिव लगायत सहभागी कार्यक्रममा युनिसेफका नरेश निदालले भूकम्पको जोखिम, जोखिम न्यूनीकरणका लागि सुपरले गरिरहेका गतिविधि, सरोकारवालाको चासो र सक्रियता, नागरिक दायित्व लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
उनले हरेक वडाले पहिलो कामको रुपमा जोखिम नक्सांकन गर्नुपर्ने बताए । उनले जोखिम नक्सांकनपछि मात्र भूकम्पीय पूर्व तयारी र प्रतिकार्यका लागि कार्ययोजना बनाएर अघि बढ्न सक्ने बताए ।
आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
उनले वडा स्तरमा विपद व्यवस्थापन समिति गठन, विपद पूर्व तयारी र प्रतिकार्य कार्यदल गठन, दक्ष जनशक्ति उत्पादन र परिचालन, खोज उद्दारमा सामान खरिद र भण्डारण, विपद व्यवस्थापन कोष स्थापना, विमा कार्यक्रम लागू, खुला स्थानको पहिचान लगायतका गतिविधि वडास्तरमा हुनुपर्ने बताए । उनले सुरक्षित संरचनाले मात्र भूकम्पको जोखिम टर्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपत समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश वाजपेयी (विवेक) ले भूकम्पको जोखिम कम गर्न आवश्यक पूर्व तयारी र सावधानीका लागि तदानुरुपका क्रियाकलाप संचालन गर्ने बताउँदै नागरिक स्तरमा सचेतता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए । नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादले भूकम्पबाट हुने क्षती न्यूनीकरणका लागि नेपालगन्जमा भइरहेका प्रयास सराहनीय रहेको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके