सूचनाको शक्ति - The Power Of Information

        

खजुराले थप पाँच लाख बराबरको सहयोग गर्ने

बाँकेको खजुरा गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिम्का भूकम्प प्रभावितलाई थप पाँच लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले दोस्रो चरणको सहयोग अन्तर्गत जाजरकोट र रुकुमपश्चिम्का भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई पाँच लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्ने निर्णय गरेको प्रवक्ता एवं वडा २ का अध्यक्ष धनराम वलीले जानकारी दिनुभयो ।

गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले प्रभावित क्षेत्रका नागरिकलाई पाँच लाख बराबरको खाद्यान्न सहयोग गर्ने निर्णय गरेको प्रवक्ता वलीले बताउनुभयो । उक्त राहत सामग्री सरकारले सञ्चालन गरेको एकद्वार प्रणालीमार्फत् पठाइने उहाँले बताउनुभयो ।

गाउँपालिकाले यसअघि भूकम्प गएको भोलिपल्ट नै उक्त क्षेत्रमा पहिलो चरणको सहयोगस्वरुप दुई लाख रुपियाँ बराबरको स्वास्थ्यजन्य सामग्री औषधिसहित स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा चार–पाँच जना स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रका नागरिकलाई उपचार सेवा दिइरहेको वलीले बताउनुभयो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १८:५७

लोकप्रिय