नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो ।
सार्वजनिक सेवाहरुको डिजिटलाइजेशनका लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरेका हुन् ।
जिआइजेडको सहयोगमा वडाहरुबाट प्रवाह हुने सेवालाई डिजिटलाइज गरिएको हो । सुरुमा नेपालगञ्जका चार वटा वडामा मात्र पाइलटिङको रुपमा यी सेवा शुरु गरिएको थियो ।
सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर घनश्याम बर्माका अनुसार वडा नम्बर १, ४, १२ र २० मा सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको थियो । यी वडाहरुमा यी सेवा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरिएको हो ।
सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले डिजिटलाइजेशनपछि अब हरेक वडामा जनताले छिटोछरितो र सहजरुपमा सेवा पाउने बताए । उनले यी सेवा प्रवाहका लागि दक्षता अभिबृद्धि र सूचना प्रविधिसंग अभ्यस्त हुनुपर्ने आवश्यकता औंल्याउँदै जनशक्तिको दक्षता अभिबृद्धिका लागि बेलाबेलामा तालिम तथा अभिमुखीकरण आयोजना गर्ने बताए ।
नेपालगञ्ज उपमहानगरपालिकालाई ‘पेपरलेस’ बनाउने अभियान अन्तर्गत वडाहरुको डिजिटलाइजेशन भएको बताउँदै उनले प्रविधिको क्षेत्रमा यो अर्को फड्को भएको उल्लेख गरे ।
उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा डिजिटलाइज भएपछि आमनागरिकका लागि फलदायी हुने विश्वास व्यक्त गरे । उनले समयको बचतसंगै सेवा प्रवाहमा दुरुस्तता आउने बताए ।
जिआइजेडका नेपालगञ्ज प्रमुख निराजन सुवेदीले चार वटा वडामा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरेर नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन सहयोग गरेको बताए ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आ–आफ्नो वडाको अनुभव सुनाएका थिए ।
डिजिटल साक्षरता भएका नागरिकका लागि यी सेवा अत्यन्त उपयोगी भएपनि डिजिटल निरक्षता भएकाहरुको पहुँचमा पुर्याउन चुनौतिपूर्ण रहेको उनीहरुको अनुभव छ ।
कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव लगायतको उपस्थिति रहेको थियोे । डिजिटल सेवा शुभारम्भ गर्न जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडाका वडा सचिव लगायत कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै २३ वटै वडामा इन्टरनेटको पहुँच, अनलाइन सिफारिस प्रणाली, फ्रि–वाइफाई, सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण शुरु गरेर प्रविधिमा आफूलाई अपग्रेड गराउँदै लगेको सूचना प्रविधि इन्जिनियर बर्माले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके