सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट पठाइएको राहत बाटोबाटै ‘कब्जा गरेर’ जनार्दनले रुकुम पुर्‍याए

पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जाजरकोट भूकम्प प्रभावितका लागि पठाइएको राहत बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पुर्याएको आरोप लागेको छ ।

शर्माको निर्देशनमा काठमाडौंबाट जाजरकोट पठाइएको ३०० थान सोलार प्यानल बोकेको ट्रक बाटोबाटै कब्जा गरी रुकुम पश्चिम पठाएको स्थानीय जनप्रतिनिधिहरुले आरोप लगाएका हुन् ।

३०० थान सोलार प्यानल बोकेको ट्रक सल्यानबाट ‘गायब’ भएपछि सामान खोजी गर्दा बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुलेको थियो ।

नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्काे जिल्ला पठाइएको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनका अनुसार काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको छ ।

भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासी लगायत प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्न लगायत सामान पुगेका छैनन् । सर्वसाधारण बारीमा कठ्याङ्ग्रिएर खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।

यस्तो बेला शर्माले संवेदनहीन राजनीति गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यता रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा रहेका नेता शर्माले भने भारतले पठाएको, सरकारले दिएको र आफैँले संकलन गरेको राहत बाँडेको बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार ११:२८

लोकप्रिय