सूचनाको शक्ति - The Power Of Information

        

उपप्रधानमन्त्री खड्का राहत सामग्री लिएर जाजरकोटमा

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन् । भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन् ।

उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नं ३ मा पुगेर हस्तान्तरण गरेका थिए । सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा थिए ।

गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिएका छन् । भूकम्प गएयता उपप्रधानमन्त्री खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितहरुको उद्धार र राहतमा खटिएका हुन् । राहत वितरणपछि पुनःस्थापनाको काम सुरु नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

रक्षामन्त्री समेत रहेका खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवाद समेत दिए ।

“नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफै पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहित वितरणमा सक्रिय छु । सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ”, उपप्रधानमन्त्री खड्काले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १७:५८

लोकप्रिय