पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा चाैबिसै घण्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्च अदालतले आज बुधवार आदेश दिएको हो ।
देवीकुमारी बरालको रिट निवेदनमा कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइड चाैबिसै घण्टा खोल्न आदेश गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयाे ।
अदालतले निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नू/नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश दिएको हो ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा चाैबिसै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले निषेध परमादेशसमेतको माग राखेर कात्तिक २१ गते रिट दायर गर्नुभएकाे थियाे ।
अदालतको आदेशमा विपक्षीहरूलाई सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत भनिएको छ । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरू शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गर्नुभएकाे थियाे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ