२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

जाजरकोट भूकम्पका ७४ जना गम्भीर घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २२ गते बुधबार

जाजरकोटमा गत शुक्रबार गएको विनासकारी भूकम्पमा परी गम्भीर घाइते भइ थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न  अस्पतालहरुमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगन्जको भेरी असपतालमा उपचार भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरेर भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा सुचारु रुपमा भइरहेको र मन्त्रालय प्रदेश सरकार र स्थानिय सरकारसँग पनि समुन्वय गरेर घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन लागि परेको जनाएको छ ।

घाइतेहरुको सम्पूर्ण उपचार निशुल्क रुपमा भइरहेको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन् ।

घाइतेहरुको औषधि उपचारमाकुनै कमि हुन नदिन मन्त्रालयले आफ्ना संयन्त्रलाई परिचालन गरेको तदारुकताका साथ काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बताए ।

यसैबिच प्रदेश सरकारसँग समन्वय र भविश्यमा भूकम्प प्रभावित क्षेत्रमा हुन सक्ने महामारीको आकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको ३ सदस्यिय टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ ।

उक्त टोलीले भूकम्पपछि त्यो क्षेत्रमा देखिन सक्ने महामारी, कुपोषण, मनोसमाजिक समस्या लगायतको रोकथाम र व्यवस्थापनका क्षेत्रमा काम गर्ने छ ।

प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार