नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर चेक हस्तान्तरण गरेको हो ।
कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ ।
कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिइ सङ्घीय सरकारको अनुगमन र सहजीकरणका लागि सुझाव समेत दिएको छ । भेटमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताउनुभयो । उहाँले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरुले शुरुवात गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।’
प्रधानमन्त्रीले आउँदाे दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि पालिकामा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्नेलगायतका कामबारे छलफल भएको बताउनुभयो । उहाँले नेपालीहरुमा सङ्कटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैँ यसपटक पनि सबै एकजुट भएको बताउनुभयो ।
आजै नेकपा (एकीकृत समाजवादी) ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ