सूचनाको शक्ति - The Power Of Information

        

शरीरमाथि ढुंगा बजारिँदै थिए, ढोका खोलेर बाहिर निस्कियौं

शनिबार राती सुतिरहेका थियौं । भंकम्पले एक्कासी घर हल्लायो । सबै ढोकाहरु बन्द भए, घरका ढुंगाहरु शरीरमा खस्दै गरेको अवस्थामा बल्लतल्ल हामी ढोका खोलेर बाहिर निस्कियौं । छोराछोरी अर्कै कोठामा थिए । जेठी छोरी बाहिर निस्के पनि कान्छी छोरीलाई भने च्यापिएको अवस्थामा बाहिर निकाल्यौं ।

घर पूर्णरुपमा क्षतिग्रस्त भई बस्नै नसक्ने अवस्थामा छ । भूकम्पमा परि छोरी घाइते भएपछि हेलिकप्टरबाट उद्दार गरेर उपचारका लागि सुर्खेत ल्याइयो । छोरीको एक खुट्टाको हड्डी दुई र अर्को एक ठाउँमा भाँचिएको रहेछ । हिजो मात्रै चार पाँच घन्टा लगाएर चिकित्सकहरुले उनको सफल शल्यक्रिया गरेका छन् ।

छोरीको खुट्टा चाँडै नै सन्चो हुनेमा आशावादी छु । भूकम्प आउँदै गरेको अवस्थामा खाट तथा ढोकाको आडमा बस्न खोज्यौं । तर जब घरका भित्ताहरु भत्कन थाले हामी भागेर बाहिर निस्कयौं । मेरो १३ वर्षिया कान्छी छोरी सम्पदा सिंह पनि घाइते भएर उपचारका क्रममा रहेकी छन् । उनी ९ कक्षामा अध्ययनरत्त छिन् ।

मेरो छोरा काठमाडौंमा स्नातक तहमा अध्ययनररत्त रहेका छन् । भूकम्प आउँदा दशै तिहार बिदा भएकोले उनी जाजरकोटमै थिए । उनले घर भत्किन थालेपछि सिरक ओढेर ढुंगाको प्रहार खपी दुई बहिनीहरुलाई बचाए । भाग्यवंश भनौ छोरालाई अलि अलि चोट लागेपनि उनी खतरामुक्त रहेको अवस्था छ ।

अन्य व्यक्तिगत समस्याहरु भए पनि उपचारका लागि भने कुनै प्रकारको समस्या हामीले सामना गर्नुपरेको अवस्था छैन । वास्तविक पिडित, घाइते तथा मृत्तक परिवारप्रति सम्मानजनक तरिकाले सरकारको राहत कार्यक्रम पुगोस् भन्न चाहन्छु । बारपाक भूकम्प पश्चात् पुननिर्माण भएजस्तै हाम्रो क्षेत्रमा पनि पुननिर्माणका कार्यक्रम सञ्चालन होस् ।

जाजरकोट बारेकोट गाउँपालिकाका सिंहसँग गरिएको कुराकानीमा आधारित

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०८:२६

लोकप्रिय