सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

दुर्गममा राहत पुर्‍याउन चुनौती, खुला ठाउँमा बसेकाहरु चिसोको मारमा

हिजो जुनीचाँदे गाउँपालिकामा हेलिकप्टरमार्फत राहत पठाए पनि अवतरण हुन नसक्दा त्यसै फर्किएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन ।

केही सडक भूकम्पका कारण भत्किएका छन् । यसले गर्दा दुर्गम क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए । सडक पुगेका क्षेत्रमा हिजैदेखि राहत वितरण भइरहेको पनि उनले बताए ।

उनका अनुसार सम्बन्धित पालिकासँग समन्वय र छलफल गरेर राहत पुर्याउन थालिएको छ । दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत पठाउने तयारी भएको छ । हिजो जुनीचाँदे गाउँपालिकामा हेलिकप्टरमार्फत राहत पठाए पनि अवतरण हुन नसक्दा त्यसै फर्किएको छ ।

त्यो क्षेत्रमा आज फेरि हेलिकप्टर पठाउने तयारी भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए । यस्तै, भूकम्प प्रभावित रुकुम पश्चिमका नागरिकलाई पनि राहत वितरण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

राहतमा त्रिपाल, ब्लाङ्केट, केही खाद्यान्न, न्यानो कपडा तथा स्वास्थ्य किट वितरण गर्न थालिएको छ । गएको शुक्रवार राति भूकम्प गएपछि धेरैजसो खुलाचौर, सामुदायिक भवन, विद्यालयमा बसेका छन् । कतिपय चिसो भुँइमा पराल र म्याट ओछ्याएर बसेका छन् । यसरी खुल्ला रुपमा बसेकाहरुलाई चिसोले सताउन थालेको छ ।

खासगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीको स्वास्थ्यमा समस्या पर्न थालेको छ । कतिपयलाई न्यानो कपडा वितरण गरे पनि धेरैले पाएका छैनन् । चिसोमा दिनरात बिताउन बाध्य भएका प्रभावितहरुलाई बेलाबेला आइरहने परकम्पले थप त्रासमा पारेको छ । बेलाबेला शक्तिशाली परकम्प गइरहेकाले राहत वितरणमा समेत समस्या पर्न थालेको जिल्ला प्रशासन कार्यालयले बताएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०८:०६

लोकप्रिय