जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका क्षेत्रका अधिकांश घरमा क्षति पुर्याएको छ । १५३ मानिसको मृत्यु भएको छ भने कतिपय पशु–चौपायालाई समेत क्षति पुर्याएको छ ।
सो नगरपादिका भूकम्पको केन्द्रविन्दु रहेको जिल्ला जाजरकोटको सीमाना भएका कारणले पनि क्षति पुर्याएको हो । वडा नम्बर ११ गाउँबारीका धनवीर पुन अहिले आफ्नो गाउँभन्दा १ घण्टा ३० मिनेटको पैदल हिँडाइभन्दा तल झरेका छन् । छोरीको खेतमा बसेका छन् ।
कपाल खौरिएका उनले सेतो वस्त्र लगाएर बसेका छन् । शुक्रवार बेलुका सँगै सुतेकी आफ्नी श्रीमतीलाई भूकम्पमा गुमाएपछि उनी काजक्रिया गर्न यहाँ बसेका हुन् । ‘श्रीमतीको किरिया (क्रिया) गर्न बसेका छौं,’ धनवीरले भने ।
कुरा गर्ने क्रममा उनले भूकम्पले जीवनसंगिनी गुमाएको पीडा पोखे । उनी आफैँ भाग्यले बाँचेका हुन् । भूकम्प आएपछि घरमा भएको ढुङ्गाले उनलाई च्यापेको थियो । उनको ढाड र खुट्टाको भागमा ढुङ्गा बसेको थियो । उनकी श्रीमतीको भने टाउकोमा ढुङ्गा लागेकै कारण मृत्यु भएको हो ।
‘भूकम्प आएपछि मलाई र उनी (श्रीमती)लाई ठूलो ढुङ्गाले लाग्यो । उनलाई टाउको लागेकाले बच्न पाइनन्,’ धनवीरले भने । करिब ४–५ घण्टापछि आएर पुनको उद्धार भएको थियो । अहिले उनको हात, खुट्टा र ढाडमा चोट लागको छ ।
उनी अहिले उठ्न नसक्ने अवस्थामा छन् । यस्तै रुकुम पश्चिम आठबीस नगरपालिका १३ घितमाङमा ३०० भन्दा धेरै घर छन् । तीमध्ये कुनै पनि घर बस्न सक्ने अवस्थामा नभएको स्थानीय खडक थापाले बताए ।
‘सडकबाट करिब १ घण्टा गाडीमा माथि जानुपर्छ, त्यहाँ ३०० घर छन् कुनैमा पनि बस्न सक्ने अवस्थामा छैन,’ डोल्पा जाने सडक खण्डमा भेटिएका पुनले लोकान्तरसँग भने, ‘सबै बाहिर बसेका छन् । त्यहीँ पकाएर खाने गरेका छन् ।’
उनको गाउँमा पूर्वकुमारी शाही, खिममान बीसी, मिना बीसीलगायत ६ जनाको मृत्यु भएको थियो । उनीहरूले २ रात बाहिर पालमा सुतेर बिताएपछि आफन्तको दाहसंस्कारमा आएको बताए । आठबीस नगरपालिका ११ मा एउटै घरमा ४ जनाको मृत्यु भएको छ ।
भाडामा बस्ने मजदुरसहित ४ जनाको मृत्यु भएको स्थानीय सुशीला चन्दले बताइन् । उनको छिमेकमा रहेका टेकबहादुर चन्दको घरमा घटना भएको हो । उनका अनुसार ६५ वर्षीय चन्द, उनकी श्रीमती ५५ वर्षीया कोशिला चन्द्र र सडक निर्माण गर्न आएका बाबुछोराको मृत्यु भएको हो ।
६ जना बस्दै आएको त्यो घरमा २ जनालाई चिच्याउँदा चिच्याउँदैको अवस्थाबाट उद्धार गरिएको उनले बताइन् । ‘६ जना सुतेका थिए, भूकम्प आएपछि हामी बाहिर आउँदा बचाओ–बचाओे भन्दै थिए । सडकमा काम गर्ने अरु मानिसलाई बोलाएर उनीहरूलाई घरबाट तानेर बाहिर निकाल्यौं,’ सुशीलाले भनिन् ।
६ जनालाई निकले पनि अरुलाई बचाउन नसकेको भन्दै उनले दुःख व्यक्त गरिन् । आठबीसकोट नगरपालिकामा मृत्यु भएका अरुबारे सुशीलालाई खासै याद छैन । तर मृत्यु भएका एकजना १२–१३ वर्षजतिका बालकको भने उनलाई झलझली याद आइरहेको छ ।
‘एउटा १२–१३ वर्षको सानो बच्चा थियो, उसले आफ्नो बुवालाई ढुङ्गा ओसारेर सघाउँथ्यो, त्यो पनि बुवासँगै भूकम्पमा परेछ,’ भावुक हुँदै उनले भनिन् । टेकबहादुरको घरमा अहिले मृतकको दाहसंस्कार गर्ने मानिस पनि छैनन् । उनका एका छोरा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । बुहारी काठमाडौंमा २ हप्ताकी सुत्केरी छिन् ।
त्यसैले आफन्तले लगेर दाहसंकार गरिदिएको सुशीलाले बताइन् । रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् । मानिसहरू खेतको खुला आकाशमै बसेर खाना जीविका चलाइरहेका छन् । त्यही खाना पकाएर खान्छन्, त्यहीँ सुत्छन् । तीन रात खुला आकाशमा बिताइसकिएको स्थानीयले बताए ।
तीन रात बाहिर बस्दा शीतले भिजेका कपडा सुक्न घण्टौँ लाग्ने गरेको उनीहरू बताउँछन् । ‘भूकम्प आएदेखि अहिलेसम्म हामी बाहिरै सुतिरहेकाका छौं । घरभित्र जाने त आँटै छैन । सबै घर भत्किएको छ । भित्र भएको अन्न पनि बाहिर ल्याउन आँट आएको छैन्,’ वडा नम्बर ११ का स्थानीय मनबहादुर डाँगीले भने ।
मनबहादुरहरू बाहिर बसेका छन् । भूकम्पको डरले आफ्ना चौपायालाई पनि घाँस हाल्न जान सकेका छैनन् । ३० घर परिवार भएको यस क्षेत्रमा एक हप्ताकी सुत्केरी बच्चा लिएर बाहिर खुला आकाशमा सुत्न बाध्य छिन् ।
अहिलेसम्म त्यहाँ स्थानीय प्रशासनको उपस्थिति देखिएको छैन । कारण, त्यहाँका वडाध्यक्ष प्रेम पुनको पनि भूकम्पमा परेर खुट्टा भाँचिएको छ । ‘वडाध्यक्षको पनि खुट्टा भाँचिएको छ । उहाँ यहाँ आउन सक्ने अवस्था पनि छैन । अरु कोही आएका छैनन्,’ स्थानीय छवि डाँगीले भने ।
रुकुम पश्चिम सदरमुकामबाट टाढा रहेको आठबीसकोट जाजरकोटबाट नजिक पर्छ । सो क्षेत्र जाजरकोट प्रहरीको कार्य क्षेत्र नहुँदा समस्या हुने गरेको स्थानीयहरूले बताए । यस्तै कारणले रातभर खुला आकाशमा बिताउन बाध्य भएको उनीहरूको गुनासो छ ।
यस क्षेत्रमा भूकम्पपीडितहरू आफ्नो घरका सामानहरू बाहिर निकालेर सुरक्षित राखेको देखिन्छ । भूकम्पले घरभित्रका खाद्यान्न नष्ट गरेका कारण मकैको रोटी खाएर उनीहरू जीविका चलाइरहेका छन् । ‘हाम्रो घरमा भएको सबै खाद्यान्न पुरियो अहिले पर ठूली दिदीकोबाट मागेर मकैको पिठो ल्याएको हो,’ एक स्थानीय महिलाले भनिन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जाजरकोट