सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्पमा अस्ताए दिदीबहिनी ‘उपासना र ऊर्जा’

जाजरकोट केन्द्र भएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा गोरखबहादुर सिंहले दुई छोरी गुमाए । मस्त निन्द्राको समयमा सँगै बस्दै आएका एक आफन्तको पनि ज्यान गयो । गोरख आफै, श्रीमती र एक छोरी पनि घाइते छन् ।

गोरख र उनकी श्रीमतीको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते अवस्थामा रहेकी एक छोरीको नेपालगन्जमा उपचार हुँदैछ । गोरख सदरमुकाम खलंगामा श्रीमती, तीन छोरी र एक आफन्तको छोरीसँगै बस्दै आएका थिए ।

शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्काउँदा उनीहरू भग्नावशेषमा पुरिए । रातिको समयमा भूकम्प जाँदा लामो समय उद्धार हुन सकेन । घरको भग्नावशेषबाट उनीहरूको चार घण्टापछि मात्र उद्धार भएको गोरखका भाइ सुरेन्द्र (सुमन) सिंहले जानकारी दिए ।

उद्धार भइसक्दा तीन जनाको मृत्यु भइसकेको थियो भने तीन जना घाइते अवस्थामा थिए । सुरेन्द्र बारेकोट गाउँपालिकामा थिए, भूकम्पपश्चात् टेलिफोन सम्पर्कविच्छेद भएपछि वस्तुस्थिति बुझ्न पाएनन् । उनी घटनाको जानकारी पाएलगत्तै सदरमुकाम खलंगा झरेका थिए ।

घाइते गोरखको अवस्था भने सुधारोन्मुख रहेको सुरेन्द्र बताउँछन् । सन्तान वियोगका कारण गोरखकी श्रीमती मूर्छित् अवस्था रहेको उनी सुनाउँछन् । गोरखकी माहिली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन् ।

सम्पूर्ण प्रक्रिया सकेर उनी भिसाको प्रतीक्षामा रहेको सुरेन्द्र बताउँछन् । एमबीबीएस पढ्ने तयारी गरिरहेकी कान्छी छोरी १८ वर्षीया ऊर्जा सिंह आगामी पढाइको तयारीमा थिइन् । उनीहरूसँगै बस्दै आएकी २५ वर्षीया मेलिना भने इन्जिनियरिङ गर्दै थिइन् ।

उनीहरूको शनिबार नै अन्त्येष्टि गरिएको छ । जेठी छोरी नेपालगन्जमा उपचाररत छिन् । उनको नेपालगन्जमा उपचार भइरहेको भए पनि अवस्था जटिल नै रहेको उनी सुनाउँछन् । समयमै उपचार हुन सकेको भए उनीहरूको ज्यान जोगाउन सकिने सुरेन्द्रको भनाइ छ ।

‘समयमै उद्धार हुन सकेको भए सबै जना बाँच्थे होलान् । सममै उद्धार हुन नसक्दा उनीहरूलाई गुमाउनु पर्यो,’ उनले भने । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०५:३०

लोकप्रिय