जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका छन् ।
जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् ।
जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए । रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।
उनले भने, ‘रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुई जना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।’ भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । जाजरकोट