सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

नौ मिनेटको अन्तरमा जाजरकोटमा भूकम्पका दुई धक्का

जाजरकोटमा सोमबार अपराह्न नौ मिनेटको अन्तरमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको छ । अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

त्यसको नौ मिनेटपछि अर्थात् अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ । गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म १५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १७:४०

लोकप्रिय