सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

फेरि शक्तिशाली भूकम्प, केही व्यक्ति घाइते, भत्किए घरहरु

रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको भूकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएका छन् भने केही व्यक्ति घाइते भएका छन् ।

शुक्रबार रातिको भूकम्पले क्षति पुर्याएको जाजरकोटका बस्तीमा सोमबार अपरान्ह अर्को शक्तिशाली भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको भूकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएका छन् भने केही व्यक्ति घाइते भएका छन् ।

जाजरकोटको भेरी नगरपालिका वडा नं.१ राउतगाउँ र वडा नं.५ कालेगाउँमा रहेका घरहरू शुक्रबार रातिको भूकम्पले चर्काएकोमा सोमवार दिउँसो साढे ४ बजेपछि गएको भूकम्पले भत्काएको छ । शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ ।

शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीय वीरबहादुर ओलीले जानकारी दिए । ‘यो भूकम्पले झन् जोखिम बढ्यो, घर नजिक बस्न पनि नसकिने भयौं,’ उनले भने । राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन् । राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरहरु भत्किएका छन् ।

शक्तिशाली भूकम्प आउँदा ठूलो आवाज आउनुका साथै गाउँभरि नै घर भत्किएर धुलो उडेको देखिन्थ्यो । ‘लामो समयसम्म हल्लायो, पहिले नभत्किएका घरहरु पनि अहिले भत्किए,’ स्थानीय बलवीर खत्रीले भने । भूकम्पले थप घरहरु भत्किएको र मानिस समेत घाइते भएको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट राउतगाउँको टोली गाउँघरतिर गएको छ ।

शुक्रबार मध्यरातमा आएको शक्तिशाली भूकम्पले ठूलो धनजनको क्षति भएका बेला आज पनि सोही क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि नागरिकहरु निकै त्रसित र तनावपूर्ण अवस्था छन् । आज गएको भूकम्पको झड्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो । सोमवार अपरान्ह साढे ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १७:३१

लोकप्रिय