सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

उपप्रधानमन्त्री खड्का खटिए भूकम्पको ‘इपिसेन्टर’मा

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा पुगेका छन् । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिएका उपप्रधानमन्त्री खड्काले आज बिहान जाजरकोट सदरमुकाम खलङ्गा लगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गरेका हुन् ।

भूकम्प प्रभावित क्षेत्रमा पुगी खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् । उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताए ।

‘सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत् वितरण हुन्छ’, उनले भने, ‘यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ ।’

उपप्रधानमन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार ५०० परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्यांक आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेमा विश्वास व्यक्त गरे ।

केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको जानकारी दिँदै उपप्रधानमन्त्री खड्काले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १६:२०

लोकप्रिय