सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भेरी अस्पतालमा ४१ जना घाइते उपचाररत, सातको शल्यक्रिया

भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्दै प्रदेशमन्त्री पाण्डे ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू मध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४१ जनाको उपचार भइरहेको छ । ४३ जना भूकम्पपीडित घाइतेलाई नेपालगन्ज ल्याइएकोमा एक जना निको भएर घर फर्किएको, एक जनाको ल्याउँदा ल्याउँदै मृत्यु भएको र ४१ जनाको उपचार भइरहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले भेरी अस्पतालमा उपचाररत सात जनाको सफल शल्यक्रिया गरिएको जनाउँदै अहिले उनीहरूको अवस्था सामान्य रहेको बताए । एक गर्भवती महिलाको बच्चा पेटमा नै मरेकाले उनको नर्मल डेलिभरी गराई मृत बच्चाको अन्तिम संस्कार गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

उता, भेरी अस्पतालका सूचना अधिकारी डा.सङ्केतकुमार रिसालले अहिले यहाँ उपचार भइरहेका ४१ जना घाइते सबैको स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाउँदै एक जनालाई आइसियुमा राखेर उपचार गरिए गरिएको जानकारी दिए । साथै उनको अवस्था खतरामुक्त रहेको डा.रिसालको भनाइ छ ।

घाइतेहरूलाई अस्पताल पुर्याउँदा छ जनाको अवस्था निकै गम्भीर रहेको जनाउँदै सूचना अधिकारी डा.रिसालले तर राम्रो उपचार पाएपछि उनीहरू पनि खतरामुक्त भएको बताए । अस्पतालमा भर्ना रहेका घाइतेहरूमा २३ महिला र २० जना पुरुष रहेकोमा १६ जना बालबालिका रहेक छन् ।

जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनका अनुसार हाल अस्पतालमा रहेका घाइतेमध्ये जाजरकोटका २७, पश्चिम रुकुमका १३ र सल्यानका एक जना छन् । आइतबार थप चार जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

यसैबिच लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री सन्तोष पाण्डेले भेरी अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले सो अवसरमा उपचारमा कुनै पनि कमी हुन नदिने बताउँदै प्रदेश सरकारले पनि केन्द्र सरकारको हरेक कदममा साथ र सहयोग गर्ने बताएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १४:५१

लोकप्रिय