सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

रुकुम पश्चिम : जहाँ भग्नावशेषमा ‘घरको अवशेष नै चिनिँदैन’

पिउने पानीदेखि, खाद्यान्न र रात काट्ने व्यवस्था सबैको कमी छ । प्रकोप फैलिएका कि भन्ने डर छ । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्य सामग्री छैन ।

जाजरकोट भूकम्पले सबैभन्दा धेरै प्रभावित पारेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नचर्किएका घर भेट्न गाह्रो छ । त्यहाँ धेरैतिर शोक र त्रास मात्र देखिन्छ ।

नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर १,२ र ३ बाहेक ११ वटा सबैभन्दा धेरै प्रभावित छन् । रुकुम पश्चिममा ज्यान गुमाएका ५२ जनामध्ये ४२ जना सोही नगरपालिकाका मात्र छन् । प्रभावित क्षेत्रहरूमा पुगेका सोही नगरपालिकाका बासिन्दा तथा पत्रकार अर्जुन विष्टले भूकम्प गएपछिको अवस्थाबारे यस्तो बताएका छन् ।

निजी न सार्वजनिक भवन कतै ढुक्कले बस्न सक्ने अवस्था छैन । भूकम्प गएपछि आएका परकम्पले चर्किएका थप घरहरू ढलेपछि अहिले कोही पनि घर फर्कने कुरा सोचिरहेका छैनन् ।’ धेरैका ओड्ने, ओछ्याउने कपडा भत्किएका घरमै पुरिएका छन् । तर चिसो बढिरहेको रातमा यहाँ पालको सबैभन्दा ठूलो अभाव छ ।

बालबालिका र वृद्धवृद्धाका लागि बितेका दुई रात सबैभन्दा कष्टकर रहे । सबै मानिस खुला ठाउँमा समय काटेका छन् । झन्डै साढे आठ हजार घरधुरी भएको यो नगरपालिकाका कम्तीमा पाँच हजार घर चर्किएका वा भत्किएका अनुमान गरिएको छ । सबैभन्दा बढी प्रभावित बनेको १४ नम्बर वडामा पुग्दा मानिसहरू ‘आफ्नो घर यहाँ थियो र’ भनेर ठम्याउन गाह्रो हुने अवस्थामा छन् ।

घरहरू यति नराम्ररी भत्किएका छन् कि भग्नावशेष बीचमा आफ्नो ठाउँ चिन्न सकिने अवस्था छैन । लहरै घरहरू पूर्णरूपमा ढलेका छन् । त्यहाँ पिउने पानीदेखि, खाद्यान्न र रात काट्ने व्यवस्था सबैको कमी छ । प्रकोप फैलिएका कि भन्ने डर छ । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्य सामग्री छैन । यहीँ वडामा मात्र २८ जनाको मृत्यु भएको थियो । चार जना जाजरकोटबाट पाहुना हुन आएका व्यक्ति थिए ।

यहाँ कतै बालबालिका गुमाएको पीडा त कतै अभिभावक गुमाउँदाको पीडा देखिन्छ । अरूमा निर्भर बिरामी वृद्धहरूको अवस्था बिजोग छ । यस नगरपालिकामा मृत्यु हुनेमा एकजना त २० दिनको शिशुसहित २३ जना बालबालिका छन् । १५ वर्षमुनिका १८ जना छन् । मैले शनिवार राति आठबीसकोट–९ मा पर्ने राडीबजारमा बिताएँ । बालबालिका र वृद्धवृद्धाको बिजोगबीच चिसो भयो भनेर गुनासो गर्ने अवस्था थिएन ।

धेरैजना भूकम्प जाँदा आफूले लगाएकै लुगाकै भरमा थिए । स्कुलहरू भत्किएका कारण त्यहाँ ओत लगाउने अवस्था पनि छैन । भर्खरै गहुँ लगाएको जमिनमा बस्ने अवस्था छ । भिरालो जमिनतिर आड लगाएर बस्दा भूकम्प आउँदा माथिबाट ढुङ्गा खस्ला कि भन्ने अर्को त्रास छ । यहाँ मानिसहरू परिवारजन, आफन्त र साथीसङ्गी गुमाउँदाको शोकमा हुँदाहुँदै पनि अर्को छाक कसरी टार्ने, रातमा कहाँ ओत लाग्ने र अझ भनौँ आफ्नै ज्यान कसरी जोगाउने, रात कसरी काट्ने भन्ने चिन्तामा छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १३:५३

लोकप्रिय