सूचनाको शक्ति - The Power Of Information

        

चिउरी गाउँका १३ को सामूहिक दाहसंस्कार

भूकम्पबाट १०५ जनाको ज्यान गएपछि जाजरकोट नलगाड नगरपालिका–१ चिउरा गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । नलगाड नदीको किनारमा १३ जनाको एकै ठाउँमा दाहसंस्कार गरिएको हो । एकै गाउँकै यत्ति धेरै भूकम्पबाट मृत्यु भएपछि सामूहिक दाहसंस्कार गरिएको हो ।

च्युरी गाउँमा एकै परिवारका चारजनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भएकोमा च्यूरी गाउँको मात्र १३ जनाको मृत्यु भएको थियो ।

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, ४ वर्षीयका सुशान्त परियार, ८ वर्षीय विनय परियार, १० वर्षीया सपना बिक, १६ वर्षीया अमृता पुन, ४ वर्षका बिशाल बिक, २४ वर्षीया मनिषा बिक, २३ वर्षीय सुजल बिक, ५८ वर्षका दत्तबहादुर कुमाईंको निधन भएको थियो ।

यस्तै, २४ वर्षीय भीमसेन बिक, ४ वर्षका सन्दिप बिक, २१ वर्षीया कमला बिक, ७ वर्षीय प्रदेश बिक, १४ वर्षीया बिमला बिक र १२ वर्षीय सुनिल बिकको पनि शुक्रबार राती नै घरमा पुरिएर मृत्यु भएको थियो । त्यस्तै १४ वर्षीया बिनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो ।

नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट चिउरी गाउँ पुग्न ४ किलोमिटर दुरी मात्र पार गर्नुपर्छ । अधिकांश दलित समुदायको यस गाउँमा बसोबास रहेको छ । कच्ची माटोले निर्माण गरिएका परम्परागत घर भएका कारण कुनै उक्त गाउँमा कुनै पनि घर सक्लो अवस्थामा रहेको छैन । भूकम्पले सबै भन्दा बढी नलगाड नगरपालिकामै गरेको छ ।

अहिले मृतकका आफन्तहरु, घाइतेका आफन्त तथा अन्य घर भत्किएर खुल्ला आकाशमा बसीरहेका छन् । सरकारले दिने भनिएको राहत सामग्री अहिलेसम्म पीडित समक्ष पुग्न सकेको छैन । पराकम्पन जाने क्रम जारी रहेका कारण सर्वसाधारण त्रासमा छन् । भएको अन्न, लत्ताकपडा, भाँडाकुडा सबै घरसँगै पुरिएको अवस्थामा रहेको पीडित परिमल विकले बताए ।

तीन दिनदेखि खुला आकाशमा बसीरहेको उनीहरुले बताएका छन् । आकाशमा हेलिकोप्टर आउदा राहत सामग्री आयो कि भनेर आस लाग्ने गरेको कालीवान विकले बताए । उत्ता जिल्ला प्रशासन कार्यालयले एकद्धार प्रर्णालीबाट राहत सामग्री वितरण गर्ने भन्दै व्यवस्थित गर्न खोजेपनि त्यो पीडितसम्म पुग्न सकेको छैन । सदरमुकाम नजिकै केही राहत सामग्री पुगेपनि ग्रामिण क्षेत्रमा भने अहिलेसम्म कुनै सामग्री पुग्न सकेको छैन ।

मृत्यु हुनेमा अधिकांश बालबालिका र बृद्धहरु रहेका छन् । नलगाड नगरपालिकामा मात्र ५४ जनाको मृत्यु भएकोमा १७ जना वडा नम्वर १ मा मात्र भएको छ । प्रति मृतकका परिवारलाई क्रियाखर्च वापत १० हजार आर्थिक सहयोग गर्ने नलगाड नगरपालिकाले निर्णय गरेको छ । नलगाड नगरपालिकाभित्रका ९० प्रतिशत घरहरु पूर्ण तथा आशिंक रुपमा क्षती भएको नगर प्रमुख डम्वर रावतले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ०९:१४

लोकप्रिय