सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्पबाट ११ जिल्ला प्रभावित, १५७ को मृत्यु, २५६ घाइते

जाजरकोटमा मात्रै एक सय ५

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् ।

भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।  एघार जिल्लाहरू क्रमशः जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु जाजरकोटमा मात्रै एक सय ५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

आज १२ बजेसम्मको अवस्था अनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र दुई हजार आठसय ३८ वटा घरमा आंशिक क्षति भएको छ ।

जाजरकोटमा मात्रै एक सय १२ जना घाइते, ९ सय ५ वटा घरमा पूर्ण क्षति र दुई हजार ६ सय ८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा भने ५२ जनाको मृत्यु, एक सय ३२ जना घाइते भएका छन् ।

रुकुम पूर्वमा १९ वटा घरमा आंशिक क्षति भएको छ । सल्यानमा भने दुई जना घाइते भएका छन् भने २५ वटा घरमा पूर्ण क्षति र ९७ वटा घरमा आंशिक क्षति भएको छ ।

मन्त्रालयका अनुसार रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना र जुम्लामा तीन जना घाइते भएका छन् । नवलपरासी पूर्व, दैलेख, दाङ र प्युठानमा क्रमश : एक–एक, ६ र २९ वटा घरहरूमा आंशिक क्षति पुगेको छ । दैलेख र बैतडीमा भने एक÷एक घरमा पूर्ण क्षति भएको छ ।

भूकम्प प्रभावित जिल्लामा नेपाल प्रहरीका आठ सय ७४ जना, सशस्त्रका चार सय ८५ जना र सेनाका दुई सय दुई जना परिचालित गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ०८:५७

लोकप्रिय