सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पपीडितका कुरुवालाई कम्बल र तन्ना वितरण

कसौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहनु भएका घाइते र  कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गर्नुभएको छ ।

कम्बल र तन्ना वितरणका लागि वैश्यले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । जाजरकोट र रुकुमपश्चिममा आएको भूकम्पमा परी घाइते भई भेरी अस्पतालमा उपचाररत बिरामी र बिरामीका कुरुवालाई सहजता मिलोस् भनी सो कम्बल र तन्ना हस्तान्तरण गरिएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका वैश्यले बताउनुभयो ।

उहाँले यो दुखद घडीमा सबैले मिलेर एकअर्काको सहयोग गर्नु प्रमुख धर्म भएको बताउँदै आवश्यक परे अरू पनि सहयोग गरिने जनाउनुभयो । सोही प्रकारले अस्पतालमा रहेका घाइते र कुरुवालाई उहाँले आइतबार चिया बिस्कुट र केरालगायत गरेर बिहानको नास्ता पनि खुवाउनुभयो ।

कम्बल र तन्ना लिँदै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सबैको सहयोग र समर्थन र दौडधुपले गर्दा घाइतेको उपचार समयमै गर्न सकिएको जनाउँदै भूकम्पपीडितको उपचार र अन्य सहयोगका लागि बाँकेवासीले देखाएको आत्मीयता सराहनीय रहेको बताउनुभयो ।

उहाँले सुरक्षा निकाय, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, पत्रकार र अन्य नागरिकले दिएको सहयोग र हौसलाकै कारण यहाँ आएका सबै घाइतेको राम्रो उपचार हुँदा सबै सकुशल र खतरामुक्त रहेको बताउनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतवार १६:०६

लोकप्रिय