भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेको छ । आज बिहान पनि बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर दुई पटक परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान १ः२२ बजे ४ रेक्टर स्केल र बिहान ४ः५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
अस्ति शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म २११ भन्दा धेरै पटक परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो अवधिमा ४ रेक्टर स्केलमाथिका परकम्प ६ पटकसम्म गएका छन् । अझै परकम्प आउने सम्भावना रहेकाले सतर्क रहन प्रभावित क्षेत्रका नागरिकलाई केन्द्रले आग्रह गरेको छ ।
अस्ति शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १५७ व्यक्तिको ज्यान गएको पुष्टि भएको छ । २०० जनाभन्दा धेरै जना घाइते भएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं