सूचनाको शक्ति - The Power Of Information

        

खलबलिँदै छ भूकम्पको शक्ति

नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो ।

उहाँहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तीन वर्षयता पश्चिम नेपालका विभिन्न भूकम्पको निरन्तरको धक्का बढ्न थालेको हो । गत असोज १६ गते बझाङमा एकै दिन गएका ६.३ र ५.३ म्याग्निच्युडको भूकम्पपछि लगातारजसो नै त्यो क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । जसको कम्पन काठमाडौँसम्म राम्रै महसुस गरिएको थियो । त्यसअघि वैशाखमा बाजुरामा यही आसपासको भूकम्प गएको थियो ।

शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पको धक्काले काठमाडौँ पनि हल्लिएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताउनुभयो । रातको समयमा भूकम्प गएकाले पनि जाजरकोट र रुकुममा बढी जनधनको क्षति पुगेको उहाँले बताउनुभयो । भूकम्पले भौगर्भिकस्तरमा पारेको असरबारे अध्ययन गर्न अधिकारीसहितको टोली जाजरकोट पुगेको छ । अध्ययनपछि मात्र पृथ्वीको गर्भभित्रका प्लेट एकआपसमा कति धसिए भन्ने पत्ता लाग्ने उहाँले बताउनुभयो ।

भूकम्प अनुगमनमा व्यस्त भूकम्पविद् सञ्जय कुशवाहका अनुसार शनिबार बिहानसम्म चार म्याग्निच्युड र त्यसभन्दा माथिका चार वटा परकम्प गए । त्यसभन्दा साना खालका १६० वटा भन्दा बढी परकम्प महसुस गरिए । बझाङ भूकम्पका मात्र पाँच सयभन्दा बढी परकम्प महसुस गरिएका थिए ।

केन्द्रका अनुसार लामो समयदेखि सञ्चित आठ म्याग्निच्युडमाथिको महाभूकम्पको शक्ति पश्चिम नेपालको जमिनमुनि सञ्चित छ । त्यो बाहिरिन आठ म्याग्निच्युड बराबरको भूकम्प एकैचोटि जानु पर्छ ।

पछिल्लो समय गइरहेका साढे छ म्याग्निच्युड बराबरका भूकम्पले महाभूकम्पको शक्तिको एक छेउ पनि बाहिर निस्कँदैन किनभने आठ म्याग्निच्युडको भूकम्पको शक्ति सञ्चित छ भने सात रेक्टरका ३२ वटा भूकम्प जानु पर्छ । त्यस्तै छ म्याग्निच्युडको जाने हो भने एक हजार २४ वटा भूकम्प गएमा बल्ल एउटा आठ म्याग्निच्युडको महाभूकम्पको शक्ति बाहिरिन्छ ।

अझ कम पाँच म्याग्निच्युडको भूकम्पमार्फत त्यो सकिने हो भने ३२ हजार वटा भूकम्प आउनु पर्छ । जति कम म्याग्निच्युडको भूकम्प जान्छ, त्यति गुणा धेरै भूकम्पको सङ्ख्या बढेर जानु पर्छ तर ती भूकम्प परकम्पका रूपमा नभई भूकम्पकै रूपमा जानुपर्ने हुन्छ ।

नेपालको पश्चिमी भूगर्भमा पाँच सय वर्षदेखि त्यो शक्ति जमिनमुनि बसिरहेकाले पनि खतरा बढेको छ । अहिलेका भूकम्पले दरार पैदा नगराएको र शक्ति नबाहिरिएका कारण अबको केही दिनभित्र नै पश्चिम नेपालमा अर्को मध्यम खालको भूकम्प जाने सम्भावना रहेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउनुहुन्छ । त्यसैले सावधानी अपनाउन उहाँ सुझाउनुहुन्छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतवार ०८:०२

लोकप्रिय