सूचनाको शक्ति - The Power Of Information

        

४३ जनाको मृत्यु भएको आठबीसकोटका मेयर भन्छन्, ‘स्थिति भयावह छ’

शुक्रवार राति आएको भूकम्पमा परी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ४३ जनाको मृत्यु भएको छ । नगरपालिकाका प्रमुख (मेयर) रवि केसीका अनुसार वडा नं. ९, १०, ११, १२, १३ र १४ गरी कुल ६ वडामा कुल ४३ जनाको मृत्यु भएको हो ।

‘बिहानको समयमा वा दिनमा भूकम्प आएको भए मानवीय क्षति हुदैनथ्यो होला । तर, भर्खर मस्त निन्द्रामा सुतेका बेला धेरैजसो मानिसले भूकम्प आएको पत्तै पाएनन्,’ नगरप्रमुख केसीले भने, ‘मान्छे सुतेकाले घरभित्र पुरिएर दुःखद निधन भयो । संयोगवश घाइते भएका १०० जनालाई हामीले उद्धार गरी उपचारका लागि अस्पतालमा पुर्याएका छौं ।’

भूकम्पका कारण आठबीसकोट नगरपालिकामा १ हजार जति घर पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा २ हजार घर आंशिक रूपमा क्षतिग्रस्त भएको उनले बताए । ‘मृत्यु भएका ४८ जनाको शवलाई पोस्टमार्टम गर्नका लागि नगर अस्पताल लगेका छौं,’ उनले थपे, ‘उद्धारको काम सकिएको छ । घाइतेहरूमध्येका सिरियस रहेका पाँच जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । त्यसपछि विस्थापितहरूको राहतको काममा लाग्छौं ।’

यस्तो दुःखद अवस्थामा दुःख सही नसक्नु भए पनि स्थानीयवासी, नगर प्रहरी, नेपाल प्रहरी सबैले एक अर्कालाई सहयोग गर्नमा लागेको उनले बताए । ‘एकदमै भयावह स्थिति छ । नगरपालिकाको लागि अत्यन्त दुःखदायी क्षण हो । हाम्रा नागरिकले मृत्युवरण गर्नुपरेको छ,’ उनले थपे, ‘यति ठूलो संख्यामा मानवीय क्षति भएपछि यो दुःख सही नसक्नु भएको छ । तैपनि सबैजना मिलेर उद्धारमा लागेका छौं ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १४:३१

लोकप्रिय