शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका एक जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ ।
उपचारका लागि नेपालगन्जको भेरी अस्पताल ल्याउने क्रममा जाजरकोट नलगाड नगरपालिका–१ का ३३ वर्षीय टेकबहादुर पुनको निधन भएको हो ।
हेलिकप्टरबाट उपचारका लागि यहाँ ल्याइएका पुनलाई भेरी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषित गरेका थिए । दिउँसो १ बजेसम्म २० जना बढीलाई उपचारका लागि अस्पतालमा ल्याइएको छ ।
घाइतेमध्ये एक जनाको मात्र अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी डा.सङ्केत रिसालले बताए । उपचारका लागि शिक्षण अस्पताल र अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।
घाइतेहरु स्थलमार्गबाट आउनेहरु सिधै अस्पतालमा आउँछन् भने हेलिकप्टरमार्फत आउनेहरु राँझास्थित नेपाली सेनाको वाहिनीमा अवतरण भएपछि एम्बुलेन्समार्फत भेरीसम्म ल्याउने व्यवस्था गरिएको छ ।
त्यसका लागि ४५ बढी एम्बुलेन्सको परिचालन गरिएको छ । विरामीका लागि रगत अभाव हुन नदिन रक्त सञ्चार केन्द्रमा रक्तदान भइरहेको छ ।
सत्यपाटी संवाददाता । बाँके