सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पबाट घाइते १८ जना भेरी अस्पतालको आकस्मिक कक्षमा (तस्वीरसहित)

जाजरकोट र रुकुमको भुकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुलाई एम्बुलेन्स र हवाइजहाजबाट केही बेरअघि भेरी अस्पतालमा ल्याइएको हो ।

उपचार गराइरहनु भएकाहरुमा ४८ वर्षीय बिमलकुमार कार्की, भेरी नपा ३ जाजरकोट, २२ वर्षीया ईशा शाह जाजरकोट ३, २६ वर्षीया यमुना रावल सानो भेरी १ रुकुम, ७९ वर्षीय टेकबहादुर शाही भेरी ८ जाजरकोट, २६ वर्षीय धनसिंह रावल सानो भेरी १ रुकुम रहेका छन् ।

त्यस्तै, २ वर्षकी बालिका सुप्रभा विक भेरी १ जाजरकोट, ३२ वर्षीय मोहन विष्ट वनगाड कुपिन्डे सल्यान, ७ वर्षका झुपेन्द्र परियार भेरी १ जाजरकोट, ६४ वर्षका टिकाराम राना भेरी १ जाजरकोट, १५ वर्षकी अनामिका शाही भेरी १ जाजरकोट र १२ वर्षका पुष्कर परियार भेरी १ जाजरकोट रहेका छन् ।

यसैगरी ४५ वर्षका प्रेमचन्द वली सानोभेरी ४ रुकुम, १७ वर्षका गोविन्द बुढाथोकी सानोभेरी ४ रुकुम, २४ वर्षकी नविना खड्का सानोभेरी ४ रुकुम, ४ वर्षका लविश चन्द सानोभेरी ४ रुकुम, ६८ वर्षकी गौनी विक सानोभेरी ४ रुकुम, ५ वर्षका शुषान्त पुनमगर सानोभेरी २ रुकुम र २७ वर्षकी गुन्जन पुन भेरी १ जाजरकोट रहेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आठ जना घाइतेलाई एम्बुलेन्सबाट र बालबालिकासहित १० जनालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट नेपालगन्ज ल्याइएको बताए । उनले नेपाल एयरलाइन्सको विमानले शनिवार दिनभरी घाइते आसार्ने पनि बताए ।

पाइलट पेम्बा शेर्पा र को–पाइलट सुजन पुरीले उडाएको जहाज काठमाडौंबाट सल्ले पुगेर घाइतेलाई लिएर नेपालगन्ज विमानस्थल पुगेको थियो । त्यहाँबाट घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।

घाइते सबैको उपचार भेरी अस्पतालमा भइरहेको र दुई जना बाहेक अरुको अवस्था सुधार भइरहेको अस्पतालका सूचना अधिकारी डा.संकेतकुमार रिसालले बताए । भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खाली राखिएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १३:०५

लोकप्रिय