भूगर्भविद्हरूले पश्चिम नेपालमा ठूलै भूकम्प आउने अनुमान गरेका थिए भने गएरातिको भूकम्पले त्यसको पुष्टि गरेको छ । ६०० वर्षभन्दा बढी समयदेखि जारी ‘टेक्टोनिक प्लेट’को तनावका कारण पश्चिम नेपालमा ठूलै भूकम्प आउने भूगर्भविद्हरूले चेतावनी दिँदै आएका थिए ।
कात्तिक १७ गते मध्यरातमा आएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाउँदा यो क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ । भूकम्पको ठूलै धक्का महसूस गरिएको भए पनि कम्प ६.४ म्याग्निच्युडको रहेको छ । शनिबार बिहानसम्म भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगिसकेको छ । त्यस्तै, १५० जना घाइते भएका छन् ।
जाजरकोटमा आएको भूकम्पको धक्का त्यहाँबाट ५०० किलोमिटर परको काठमाडौं र दिल्लीमा पनि पुगेको थियो । भूकम्पको धक्का भारतको व्यापक जनसंख्या भएको उत्तरका ठूला शहरमा तथा तिब्बतका पठारमा पनि महसूस गरिएको थियो । गएराति भूकम्पले हल्लाउँदा धेरै जना त्राहिमाम भएका थिए । पश्चिम नेपालमा हालैका केही महिनायता भूकम्प गइरहेका थिए ।
बझाङलाई केन्द्रबिन्दु बनाएर गत महीना ५.४ र ६.३ म्याग्निच्युडको भूकम्पले एक जनाको मृत्यु भएको थियो भने भौतिक संरचनामा क्षति पुगेको थियो । जाजरकोटको भूकम्पले त्यो भेगको मुनी बनिरहेको उथलपुथललाई निकास दिएको संकेत मिले पनि ठूलो उथलपुथल अझै निस्केको रहेनछ भन्ने पुष्टि भएको छ ।
भारतीय प्लेट हरेक वर्ष औसत २५ मिलिटिरका दरले युरेसिएन प्लेटतफ सर्दैछ । यही कारणले नेपालको भूगोल भूकम्पीय जोखिममा पर्ने गरेको हो । पश्चिम नेपालमा १६औं शताब्दीयता कुनै ठूलो भूकम्प गएको छैन । तसर्थ पनि त्यस भेगको मुनी निर्माण भइरहेको हलचल कुनै न कुनै वेला निस्कने अनुमान भगर्भविद्हरूको थियो ।
तिब्बतका गुम्बाहरूको ऐतिहासिक लिखतहरूमा सन् १५०५ जुन १ का दिन बिहान ६ बजे जमीन बेस्सरी हल्लिएको उल्लेख थियो । तिब्बतमा गएको ठूलो भूकम्पको त्यो धक्कापछि त्यो क्षेत्र र त्यसको नजिक पर्ने पश्चिम नेपालमा ठूलो भूकम्प गएको थिएन । सोही समयमा भारतको आग्रा लगायतको क्षेत्रमा अनुमानित ८.९ म्याग्नेच्युडको भूकम्पले ठूलो क्षति गराएको अभिलेखहरूमा पाइन्छ ।
गएरातिको भूकम्पले जमीनमुनीका प्लेटहरू सर्ने क्रममा निर्माण भएका सबै उथलपुथल निकास नभएको हुन सक्छ भन्ने डर भूगर्भविद्हरूले गरेका छन् । पश्चिम क्षेत्रमा जानसक्ने ८ म्याग्नेच्युडको भूकम्पले हिमाली क्षेत्रमा ६ मिटरजति जमिन सर्न सक्ने अनुमान गरिएको छ । भौगर्भिक विकासक्रमको आधारमा २०७२ सालको भूकम्पभन्दा ठूला भूकम्प पनि जान सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।
‘२०७२ सालको भन्दा ठूलो भूकम्प जाने सम्भावना उत्तिकै छ,’ भूकम्प प्रविधि राष्ट्रिय समाजको विज्ञ नारायण श्रेष्ठले केही समयअघि भनेका थिए । २०७२ सालको विनाशकारी भूकम्पले पश्चिम नेपाको आधा क्षेत्रलाई प्रभावित नपारेको भए पनि त्यो क्षेत्रमा भूकम्पको जोखिम भने रहेकै थियो । जनचेतनाको अभाव र कमजोर निर्माणका कारण कुनै ठूलै क्षति हुन सक्ने अनुमान विज्ञहरूले गर्दै आएका छन् ।
गएरातिको भूकम्पले माटोको जोडाइ भएका धरै घरहरू भत्किएका छन् । भूकम्पले रुकुम पश्चिमको कम जनसंख्या भएको क्षेत्रमा बढी प्रभाव पारेको भएर क्षति कम भएको देखिन्छ । यद्यपि भूकम्प रातको समयमा गएको भएर हताहत हुनेको संख्या बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा बताउँछन् ।
भूकम्प प्रभावित क्षेत्रमा मोबाइलबाट खिचेका तस्वीरहरूले पक्की घरहरू पनि भत्किएको देखिएका कारण भूकम्पको धक्का तीव्र रहेको अनुमान गरिएको छ । पश्चिम नेपालबाट वैदेशिक रोजगारीका लागि पुरुषहरू विदेश जाने क्रम तीव्र भएकाले हताहत हुनेहरूमा महिला, बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।
भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाको छिमेकी स्थानीय तह नलगाड नगरपालिका नराम्ररी प्रभावित भएको छ । घर भत्किँदा उपमेयर सरिता सिंहको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा पुग्ने सडकमा ढुंगा खस्दा बाटो अवरुद्ध भएको छ भने पशुचौपाया पनि ठूलो संख्यामा प्रभावित भएका छन् ।
अधिकांश घाइतेलाई चौरजहारी तथा रुकुमकोटमा लगिएको छ । गम्भीर घाइतेलाई सुर्खेत र नेपालगन्ज लगिएको छ । सेनाले शनिबार एकाबिहान आफ्नो दुईवटा हेलिकोप्टर प्रभावित क्षेत्रमा पठाएर राहत सामग्री पुर्याउने र घाइतेलाई उद्धार गर्ने काम थालिसकेको छ । त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि उद्धारमा खटिएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं