सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्पका १४३ वटा परकम्प, मृतकको संख्या १३३ पुग्यो

रातिको समयमा गएको हुँदा बढी क्षति

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर अहिलेसम्म १३३ जनाको ज्यान गएको छ । जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा बढी क्षति पुगेको छ ।

अहिले पनि ती क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार जाजरकोटमा बिहान सवा ८ बजेसम्म ९५ जना र रुकुम पश्चिममा ३७ को मृत्यु भएको छ ।

समाचार तयार पार्दासम्म ती क्षेत्रमा जम्मा १४० बढी घाइते भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, राजनीतिक दलका कार्यकर्तालगायत उद्धारमा खटिएका छन् ।

प्रहरीका अनुसार जाजरकोटमा ४५० जना प्रहरी र रुकुम पश्चिममा ३२० जना प्रहरी उद्धारमा खटिएका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार एम आई १७ हेलिकोप्टरबाट उद्धार भइरहेको छ ।

नेपाली सेनाले तीनजना डाक्टरसहित मेडिकल टिम सो क्षेत्रमा परिचालन गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भूकम्पविदहरुका अनुसार बझाङ र बाजुरा केन्द्रबिन्दु बनाएर गएका यसअघिका भूकम्पको असर अहिले देखिँदा क्षति बढी भएको छ ।

‘बझाङ र बाजुरामा पनि यसअघि यत्तिकै ठूला भूकम्प गएका थिए,” भूकम्पविद मुकुन्द भट्टराईले भने, ‘अरु भूकम्पले हल्लाएको घर अहिले भत्किए, राति मस्त निदाएको अवस्थामा मान्छेहरु बाहिर निस्कन पाएनन् । त्यसले धेरैजनाको ज्यान गएको हामीले अनुमान गरेका छौँ ।’

उनका अनुसार जाजरकोटमा गएको भूकम्पको गहिराई करिब १५ किलोमिटर रहेको छ । अहिले बिहानसम्म सो क्षेत्रमा १४३ वटा परकम्प गएका छन् । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो ।

६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म जना बढीको ज्यान गइसकेको छ । पहिलो भूकम्प गएको करिब १५ मिनेटमै अर्को भूकम्पको झड्का महसुस भएको थियो । १२ बजेर २९ मिनेटमा ४.२ म्याग्निच्युड, त्यसको ६ मिनेटपछि फेरि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिनमा बझाङमा लगातार भूकम्प गएका थिए ।

२०८० कात्तिक ५ गते धादिङमा केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुरामा भने २०७९ माघ १० गते केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । बझाङ र बाजुरामा भूकम्प गएका बेला चर्किएका घरहरुमा अहिले बढी क्षति भएको केन्द्रको भनाई छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:४४

लोकप्रिय