भूकम्पबाट ध्वस्त बनेको जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा बाँकेबाट आकस्मिक उद्धार, राहत र उपचारका लागि बिभिन्न निकायले उद्धार तथा उपचार टोली पठाउने भएका छन् ।
बाँकेको खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानरपालिकाले औषधीसहित स्वास्थ्कर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने भएका छन् । खजुरा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकालको नेतृत्वमा २ लाख बराबरको औषधी लिएर त्यसतर्फ पठाउन थालिएको गाँउपालिकाका प्रमुख डम्बर बिकले बताए ।
नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त बिष्टले स्वास्थ्यकर्मी र औषधी लिएर टोली प्रभावित क्षेत्रमा पठाउन थालिएको जनाएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो एम्वुलेन्स घाइतेको उद्धार तथा अस्पताल पुर्याउने कार्यमा निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रभावित क्षेत्रमा प्रधानमन्त्री आफैं स्वास्थ्यकर्मीको टोली लिएर पुगिसकेका छन् भने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि चिकित्सकको टोली त्यसतर्फ प्रस्थान गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं