सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्पका घाइतेको उपचारका लागि ‘भेरी’ डेलिकेटेड अस्पताल

शुक्रबार राती जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका घाइते भएकोको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई तयारी अवस्थामा राखिएको छ । भूकम्पमा परेका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले शनिबार बिहान ३ः२१ बजे बाटै तयारी थालिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भेरी अस्पताल नेपालगन्जलाई भूकम्पका बिरामीको उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको बताए । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि स्वास्थ्यकर्मी नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको उनले बताए ।

प्रजिअ पोखरेलले भेरी अस्पतालमा ८०, सैनिक अस्पताल २० र प्रहरी अस्पतालको ५ बेड गरी १०५ वटा बेड तयारी अवस्थामा राखिएको र बिरामीको चाप र आवश्यकताका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज साथै अन्य निजी अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

भूकम्पमा परेर उपचारको लागि नेपालगन्ज आउने बिरामीका लागि नेपालगन्ज उपमहानगर पालिकाले निःशुल्क ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । बिरामीको उपचारमा कमी आउन नदिनको लागि पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ औषधि उपकरणको प्रबन्ध मिलाइएको छ ।

प्रजिअ पोखरेलका अनुसार हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको र अपुग भएमा फ्रेस रगत आपूर्तिको लागि सशस्त्र प्रहरीको एक टिम तयारी अवस्थामा राखिनुको साथै रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

यसैबीच भेरी अस्पताल नेपालगन्जमा भूकम्पका घाइतेहरू उपचारको लागि आउने क्रम सुरु भएको छ । जाजरकोट–३ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई जाजरकोटबाट एम्बुलेन्समा नेपालगन्ज उपचारको लागि पुराइएको छ ।

यस्तो छ तयारी

  • भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेलिकेटेड अस्पताल बनाइएको छ ।
  • ब्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि फोकल पर्सन नरेश श्रेष्ठ ९८५११४३६६६ लाई तोकिएको छ ।
  • कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ, अन्य नीजि अस्पतालहरुलाई पनि तयारी रहन भनिएको छ ।
  • भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ ।
  • पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र लजिस्टिक कि प्रबन्ध मिलाइएको छ ।
  • हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।
  • ब्लडको मौज्दात रहेको छ, अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको ब्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०९:५०

लोकप्रिय