सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका अध्यक्ष भन्छन्, ‘कुनै घर सग्ला छैनन्’

शुक्रबार राति ११ः४७ मा जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका हो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भूकम्प गएदेखि नै आफ्नो पालिकाभरि घुमिरहेका छन् । उनका अनुसार यो पालिकामा ९ वटा वडा छन् । तीमध्ये १ र २ नम्बर वडामा बढी क्षति पुगेको छ ।

तर, मानवीय क्षतिको विवरण छैन । उनका अनुसार बिहानसम्ममा एक दर्जन व्यक्ति घाइते भेटिएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । ‘भौतिक क्षति ठूलो छ, तर मानवीय क्षति अहिलेसम्म प्राप्त भएको छैन,’ उनले भने ।

उनका अनुसार घरहरू कुनै सग्ला छैनन्, धेरैजसो भत्किएका छन् । स्कुल, स्वास्थ्य संस्थालगायत सरकारी भवनहरू भत्किएका छन् । ‘ठाउँ–ठाउँमा सडक भासिएको छ, १ र २ नम्बर वडामा बढी नै क्षति छ,’ उनले भने, ‘कति घर भत्किए विवरण संकलनमै छौं ।’

भूकम्प गएपछि प्रहरी, स्थानीय युवा लगायतको टोली बनाएर आफू मोटरसाइकलमा सबै वडामा पुगेको उनले बताए । बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भू–भागले ढाकेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०९:३५

लोकप्रिय