सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प अपडेट

भूकम्पका घाइतेको उपचार गर्न भेरी अस्पताल तयारी अवस्थामा

गम्भीर अवस्थाका घाइतेलाई रिफर

शुक्रबार मध्यरातको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।

गम्भीर घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रमुख, अस्पताल विकास समितिका अध्यक्ष र चिकित्सकहरू घाइतेको उपचार व्यवस्थापनका लागि बिहानैदेखि जुटेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइतेका लागि भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको जनाए ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उनले पर्याप्त संख्यामा डाक्टर , नर्सिङ स्टाफ र अन्य प्रबन्ध मिलाइएको बताए ।

हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमानस्थल र नेपाली सेनाका हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगत मौज्दात रहेको र अपुग भएमा ताजा रगत आपुर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था मिलाईएको समेत पोखरेलले जानकारी दिए ।

रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट घर भत्किँदा ७१ जनाको मृत्यु भइसकेको छ भने १ सय ५३ घाइते छन् । स्थानीय र जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

गम्भीर अवस्थाका घाइतेलाई रिफर गरिएको छ । उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं, नेपालगञ्ज र सुर्खेतस्थित सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी गरिएकाे छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०७:४३

लोकप्रिय