२०८३ जेठ २९ , शुक्रबार 13, June 2026, Saturday

खजुरामा कथा संग्रह ‘मयागाँठो’माथि परिचर्चा तथा अन्तरक्रिया

सत्यपाटीसत्यपाटी । बाँके । २०८० कात्तिक १७ गते शुक्रबार

खजुरा प्रज्ञा प्रतिष्ठान बाँकेका उपकुलपति तथा कथाकार डा. इन्द्रबहादुर भण्डारीको कथा संग्रह ‘मयागाँठो’माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

विद्यार्थीका जिज्ञासा लेखकको जवाफ कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय मावि लक्ष्मणपुुर बाँसगढी बर्दियामा सोे कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य प्राज्ञ महानन्द ढकालले साहित्यिक गतिविधिहरूले नयाँ सर्जकहरू जन्माउने भएकाले यस्ता कार्यक्रमहरू विद्यालय तथा विश्व विद्यालयहरूमा गर्नुपर्ने बताए ।

‘मयागाँठो’ कथा संग्रहको समीक्षा गर्दै समालोचक विष्णु पौडेलले डा. भण्डारीका कथाहरू समसामयिक विषयवस्तुमा केन्द्रित रहेको बताउँदै कथाकारले आफ्ना कथाहरूमा मनोविज्ञानलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले नेपालको संविधानले स्थानीय भाषा, कला तथा संस्कृतिलाई महत्त्व दिए बमोजिम  पछिल्लो समय स्थानीय पाठ्यक्रमको मर्म अनुसार विद्यालयले लेखकहरूलाई विद्यार्थीहरूसँग अन्तरक्रिया गराउने गरेको जनाए ।

खजुरा प्रज्ञा प्रतिष्ठान बाँकेका उपकुलपति र कथाकार डा. भण्डारीले हरेक व्याक्तिसँग भावना हुने र त्यही भावनालाई कलात्मक तरिकाले व्यक्त गर्न सके साहित्य बन्ने भएकाले विद्यार्थीहरूलाई लेख्दा तथा बोल्दा कलाको प्रयोग गर्न सुझाव दिए ।

साहित्यकार सीता कुमारी चालिसेको सञ्चालन गरेको कार्यक्रममा साहित्यकार तथा ज्ञानोदय बहुमुखी क्याम्पसकी क्याम्प प्रमुख चरित्रा शाह, साहित्यकार कृष्णराज अधिकारी, खिम बहादुर खड्का, बलराम सुवेदी, अमृक चौधरी, खिम राज पहारी, सुशिला रावत लगायत तीन सय बढी विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा दर्जन बढी विद्यार्थीहरूले कथाकारसँग दुई दर्जन बढी जिज्ञासाहरू राखेका थिए ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार